श्रम स्वीकृति अनिश्चितकालका लागि स्थगित

फागुन ३०, काठमाडौं – नेपाल सरकारले वैदेशिक रोजगारीका लागि दिइने श्रम स्वीकृति अनिश्चितकालसम्मका लागि स्थगित गरेको छ ।

अध्ययनका लागि विदेश जाने विद्यार्थीहरुलाई पनि ३० अप्रिल अगाडि नो अब्जेक्सन सर्टि्फिकेट नदिने निर्णय सरकारले गरेको छ ।

विश्व स्वास्थ्य स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना भाइरसलाई महामारीको घोषणा गरेपछि बिहीबार बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

यसअघि नेपाल सरकारले दक्षिण कोरियामा मात्र मार्च महिनाभरका लागि कामदारहरु नपठाउने निर्णय गरेको थियो । नेपालीका श्रम गन्तव्य मुलुकहरुसमेत कोरोना भाइरसबाट आक्रान्त भएपछि नेपाल सरकारले श्रम स्वीकृति रोक्ने निर्णय गरेको हो ।

विदेशमा रहेका नेपालीहरुलाई अत्यावश्यक अवस्थामा बाहेक यात्रा नगर्न र विदेशमा रहँदा उच्च सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ ।

तेस्रो मुलुकका नागरिकहरुलाई स्थलमार्ग हुँदै नेपाल प्रवेशमा दिइँदै आएको सुविधा १४ मार्च २०२० देखि ३० अप्रिल २०२०सम्मका लागि स्थगित गरिएको छ ।

विदेशीहरुलाई दिइँदै आएको अनअराइभल भिसा १४ मार्च २०२० देखि ३० अप्रिल २०२० सम्मका लागि स्थगित गरिएको छ । १४ मार्च २०२० देखि नेपाल प्रवेश गर्ने नेपाली, गैरआवासीय नेपाली र विदेशीहरुले १४ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने छ ।