टुटल र पठाओ माथि अंकुश

फागुन, २८ काठमाडौं । सरकारले विभिन्न प्रयोजनमा दर्ता भएका सवारीलाई सार्वजनिक सवारीको रूपमा प्रयोग नगर्न चेतावनी सहितको सूचना जारी गरेको छ । यातायात व्यवस्था विभागले सूचना जारी गर्दै कानूनको उल्लंघन गरी अरू प्रयोजनमा दर्ता भएका सवारीले भाडामा यात्रु बोकेमा प्रचलित कानून बमोजिम कारबाही गर्ने चेतावनीपूर्ण जानकारी गराएको छ ।

ट्याक्सी व्यवसायी तथा चालकले टुटल र पठाओलाई कानून विपरित सेवा प्रदान गर्न छुट दिइएको भन्दै विभाग घेराउ गरेका थिए । टुटल र पठाओ नामा उल्लेख नगरी जारी भएको सूचना कार्यान्वयन गरिएमा निजी सवारीलाई पनि भाडा लिएर यात्रु बोकिरहेका टुटल, पठाओलगायतका मोटरसाइकलमा यात्रु बोक्ने सेवा प्रभावित हुनेछन् ।

उक्त सूचनामा भनिएको छ, ‘विभिन्न प्रयोजनका लागि दर्ता भएका सवारी साधनहरु आफूखुसी भाडा तोकी सार्वजनिक सवारीका रुपमा प्रयोग गर्दा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ का दफा १२ को उपदफा १ मा भएको ‘कुनै एक प्रयोजनका निम्ति दर्ता भएको सवारी अन्य प्रयोजनका निम्ति प्रयोग गर्न नपाइने’ भन्ने व्यवस्था विपरीत हुन जाने हुँदा तेसो गरेको पाइएमा सोही ऐन बमोजिम कारबाही गरिने र सो सम्बन्धमा यस विभाग, मातहत निकाय तथा अन्य सम्बन्धित निकायबाट कडाइका साथ अनुगमन गरिने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’