सीके लाल
काठमाडौ -आलोचकहरूले समेत प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको उत्कट जिजीविषाको प्रशंसा गर्ने गर्छन् । बाँच्ने र केही गरेर देखाउने अविचल अभिलाषाबेगर उनीजस्तो कमजोर स्वास्थ्य भएको व्यक्तिका लागि लामो एवं कठोर जेलजीवनबाट सकुशल उम्किन सहज हुने थिएन । गोरखा भुइँचालोको परकम्पबीच उनको अग्रसरतामा सम्पन्न सोह्रबुँदे षड्यन्त्रले तत्कालीन एमालेका अध्यक्षको दृढ इच्छाशक्ति एवं आफ्नो उद्देश्यप्रतिको अचल निष्ठालाई उजागर गरेको थियो ।
नेपालका अस्पतालहरूको क्षमतामा शंका गर्नुपर्दैन । चाहेमा स्थानीय शल्य चिकित्सकहरू पनि चामत्कारिक इलाज गर्न सक्षम छन् । त्यो सब हुँदाहुँदै पनि प्रधानमन्त्री शर्मा ओलीको शीघ्र स्वास्थ्यलाभका लागि उनको जिजीविषा, इच्छाशक्ति एवं संकल्पलाई यथेष्ट श्रेय दिइनुपर्छ । झन्डै हप्तादिनपछि प्रधानमन्त्री शर्मा ओलीको स्वास्थ्यस्थितिबारेको विज्ञप्ति दैनिक अखबारहरूका मुखपृष्ठबाट भित्री पानातिर धकेलिएको छ ।
स्वनामधन्य मानव अधिकारकर्मी एवं संविधानविद्हरूले विचारपृष्ठबाट आफ्ना नृजातीय मुख्तियारको पदीय निरन्तरताको महत्त्वबारे विद्वत्–वचन प्रवाह गर्न छाडेका छन् । लाग्छ, देश सुस्तरी सामान्य अवस्थातिर फर्किन लागेको छ । हुन त असामान्यताको निरन्तरता नै नेपालको सामान्य अवस्था हो, तर प्रधानमन्त्री शर्मा ओलीको स्वास्थ्यलाभमा योगदान गर्ने मिर्गौलादाता समीक्षा संग्रौला, जीवनसंगिनी राधिका शाक्य एवं निजी चिकित्सक दिव्यासिंह शाह पनि प्रत्यारोपण टोलीका विशेषज्ञ एवं सहयोगीहरूजत्तिकै यशका हकदार हुन् ।
साम्यवादीहरू परम्परागत अर्थमा ‘धार्मिक’ हुँदैनन् भन्ने मान्यता छ । भूमिपूजनमा जुत्ता लगाएर यजमान बन्नुलाई सांस्कृतिक प्रचलन भनेर बचाउ गर्न सकिन्छ । भैंसी पूजा सामाजिक समारोह मात्रै पनि हुन सक्छ । एउटा ईश्वर, एउटै पैगम्बर एवं एक मात्र पवित्र पुस्तकमा आस्था राख्ने यहुदी, इसाई वा इस्लामजस्ता अब्राहमिक धर्म अनुसार परख गर्ने हो भने साम्यवाद कि त नास्तिक वा बढीमा अज्ञेयवादी ठहरिन्छ । हिन्दु धर्मले भने बहुविधतालाई स्वीकार मात्रै गर्ने नभएर बढावा दिन्छ । गहन विश्लेषणको साटो सामान्य प्रचलनकै आधारमा भन्ने हो भने गणेश, विष्णु, महेश, आदिशक्ति देवी एवं सूर्य देवसमेत गरी पञ्चदेवता छन् । टीकाकारहरूमा नामबारे केही मतमतान्तर भए पनि वशिष्ठ, कश्यप, अत्रि, जमदग्नि, गौतम, विश्वामित्र एवं भारद्वाज जस्ता सप्तऋषिको विद्वत्ताबाट सनातन धर्मले प्राण पाएको छ । आफ्नो कर्मबाट अश्वत्थामा, दैत्यराज बलि, वेदव्यास, हनुमान्, विभीषण, कृपाचार्य, परशुराम एवं मार्कण्डेय जस्ता अष्ट चिरञ्जीवीले वर्णाश्रम व्यवस्थालाई प्रतिष्ठा प्रदान गरेका छन् । ब्राह्मण कुलमा जन्मिएकाले त्यस्ता सबै पुर्खाको आशिष प्रधानमन्त्री शर्मा ओलीलाई स्वतस् प्राप्त छ ।
सनातन धर्मजस्तै साम्यवादको नेपाली संस्करणका आफ्नै अभञ्जनीय ९इन्डस्ट्रक्टिबल० मूर्ति एवं मनीषीहरू छन् । मार्क्स, एंगेल्स, लेनिन, स्टालिन एवं माओ साम्यवादका प्रातस्स्मरणीय पञ्चदेवता हुन् । तिनको पूजा तथा अर्चनाविधि प्रतिपादित गरेका नेपाली सप्तर्षिहरूमा पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, तुल्सीलाल अमात्य, नरबहादुर कर्माचार्य, कृष्णदास श्रेष्ठ, मदन भण्डारी एवं जीवराज आश्रितको नाम लिन सकिन्छ । स्थापित भाष्य अनुसार राजा महेन्द्र, तुलसी गिरी, कीर्तिनिधि विष्ट, केशरजंग रायमाझी, मरीचमान सिंह, दामोदर शमशेर, लीलाराज विष्ट एवं शरद शाह राष्ट्रवादी अष्ट चिरञ्जीवी कर्मवीर हुन् । त्यस्ता सबै सार्वकालिक व्यक्तित्वहरू प्रधानमन्त्री शर्मा ओलीको प्रेरणाका स्रोत हुन् । सामान्यजन त केवल साधन हुन्, साध्य राष्ट्रवादी साम्यवाद हो । स्वाभाविक हो, संविधानले ‘खस–आर्य’ भनेर मुलुकको मूल कानुनमै सूचीकृत गरेको नृजातीय समूहका लागि तिनका सर्वस्वीकार्य मुख्तियार आराध्यदेवसरहका दिव्य व्यक्ति हुन् । उनको विकल्पबारे चर्चा चलाउने कर्मलाई ईशनिन्दक ९सैक्रलिजस० ठहर्याउन बेर छैन १
नित्य नश्वरता
सोमबार साँझ होलिकादहनबाट सुरु भएको रंगोत्सव फगुआ यस वर्ष ‘नेपालीय मिथिला’ क्षेत्रमा आज बुधबार बेलुकीसम्म चल्नेछ । स्वयं सृष्टिकर्ता ब्रह्माबाट अमरत्वको वरदान पाएका शासक हिरण्यकश्यपले भक्त प्रह्लादलाई जिउँदै जलाउने क्रूर निर्णय सुनाएपछि उनको दरबारले विद्वत्–सम्मति प्रदान गरेको थियो । सत्ताभक्तहरूको आमसम्मतिले समेत सत्यलाई जलाउन सक्दैन । सामान्यजनले बरु फागु पूर्णेका दिन त्यस्तो सम्मतिको प्रतीकात्मक दहन गर्छन् । पूर्णिमा दिनको उमंग सत्ताभक्तिको त्योहार हो ।
प्रतिपदा बिहान ‘जे जिवे से खेले फागु, जे मरे से लेखा ले’ पंक्ति गुनगुनाउँदै ‘सम्मतको खरानी’ उडाउने प्रचलन नश्वरताको स्वीकारोक्ति हो । अनादिबाहेक आरम्भ हुने हरेक कुराको अन्त्य हुनु स्वाभाविक हो । त्यस शाश्वत सत्यले निराशा दिने होइन, अनाशक्त कर्मका लागि उत्प्रेरित गर्न सक्नुपर्छ । शैवहरूको होली गीत ‘मसाने में खेले होली र अरे नाथ से खेले, राख से खेले र भस्म से खेले, भभूत से खेले र रेत से खेले, प्रेत से खेले र अरे हम से खेले, रंग से खेले’ जीवन एवं मृत्युको कालजयी संगीत हो । प्रतिपदाको मध्याह्नपश्चात् सूर्यास्तसम्म माधुर्य, ऐश्वर्य एवं औदार्य ९जेनरासिटी० जस्ता सगुण रूपले भरिपूर्ण राम एवं कृष्णले जनकपुर तथा वृन्दावनमा फगुवा खेल्ने लीला गर्छन् । साँझ होलैयाहरूको चैतावर तथा निर्गुण गायनका साथ दैनिक जीवन आफ्नो नियमिततामा फर्कन्छ ।
वैष्णवहरूको रंगोत्सव पनि प्रतिपदा नै हो । तर, होली धार्मिकभन्दा पनि सांस्कृतिक पर्व हो । प्रतिपदा पारम्परिक रूपमा मांस–मदिरा वर्जित आइतबार वा मंगलबार जस्ता दिनमा पर्यो भने शाक्त वा भूमिपूजकले आफ्नो सुविधा अनुसार एक दिनपछि मात्र डम्फा घन्काउँदै स्वर निकाल्छन्, ‘होली में चुवे लागल गगरी’ । चैता गायन त्यसपछि मात्र सुरु हुन्छ । होली पर्वको मुख्य सन्देश जीवन एवं जगत्को अनस्थिरता हो । आफ्नो अविनाशी एवं स्थिरताप्रति आश्वस्त हिरण्यकश्यप पनि अन्ततस् अजर अमर ठहरिएनन् । अस्थिरता सत्ताको अन्तर्निहित चरित्र हुने रहेछ । कथंकदाचित् सत्ता स्थिर भयो भने त्यो जडतामा परिवर्तित हुन्छ ।
राजनीतिक स्थिरताका कारण ढिलोचाँडो स्वयंलाई अपरिहार्य ठान्ने शासकको उदय हुन्छ । सत्तासीन हुने प्रक्रिया परम्परागत, बलात् वा प्रजातान्त्रिकमध्ये जेसुकै भए पनि निरन्तर असुरक्षाभावमा बाँच्नु स्थिरताको आकांक्षा राख्ने शासकको नियति बन्न पुग्छ । त्यसपछि ती विनम्र एवं पक्षमुक्त हुनुको साटो अहंकारी तथा गुटबन्दीलाई बढावा दिने षड्यन्त्रमा लिप्त हुन थाल्छन् । तिनलाई आफ्नो आलोचना देशद्रोह जस्तो लाग्न थाल्छ । सुस्तरी स्वाभिमानी समर्थकहरू तिनको घेराबाट निस्किन सुरु गर्छन् । अन्धभक्तहरूको पंक्तिले तिनलाई पुलपुल्याएर नर्कटको बोटमा उक्लिन उचाल्छन् । क्रान्तिले अस्थिरता सिर्जना गर्छ, तर त्यस प्रक्रियाको गतीय ऊर्जा ९किनेटिक एनर्जी० बाट समाज रूपान्तरित हुन्छ । नियमित परिवर्तन पनि स्थितिज शक्तिलाई गतिमान बनाउने प्रयत्न हो । स्थिरताले भने व्यवस्थामाथि व्यक्तिलाई हावी बनाउँछ । अनि समाजको स्वाभाविक तन्यकता ९रिजिलियन्स० क्षीण हुँदै जाने रहेछ ।
अस्पताल–बासबाट कार्यस्थलमा फर्केपछि प्रधानमन्त्री शर्मा ओलीको सबभन्दा महत्त्वपूर्ण जिम्मेवारी आफ्ना सम्भाव्य विकल्पहरूमध्ये उपयुक्त पात्रको खोजी गरेर तिनलाई राष्ट्रिय नेतृत्वका लागि तयार गर्नु उपयुक्त हुनेछ । क्षमतावान् चिकित्सकहरूका अनुसार प्रधानमन्त्रीको नयाँ मिर्गौलाले कम्तीमा दुई दशकसम्म निर्बाध काम गर्न सक्नेछ । जीवनको त्यस थप अवधिलाई नृजातीय मुख्तियारले समग्र समाजलाई दिशानिर्देश गर्न वा गलत बाटोबाट जोगाउन प्रयोग गर्नु बढी उपयुक्त हुनेछ । विकल्पहीन ९इरिप्लेसबल० ठहरिनु व्यक्तिगत उपलब्धि होला, राजनीतिक रूपमा भने त्यस्तो स्थितिलाई संकटपूर्ण मानिन्छ ।
जडताका प्रतीक
प्रधानमन्त्री पदमा अर्जुनदृष्टि राखेकाले सन् २०१५ मा एमाले अध्यक्षले समावेशी राष्ट्रियताको अवधारणालाई खण्डित गरेका थिए । उनका नजरमा कति मधेशी ‘आँप झरे’ र कैयन् जनजाति राजनीतिकर्मीको ‘माकाफुइँ’ उदांगियो । एकलजातीय वर्चस्व कायम रहेको राष्ट्रराज्यमा नृजातीय राष्ट्रवादको नारा उचाल्नु निको हुन लागेका बेला चहर्याइरहेको घाउ कोट्याउनु जस्तै हो । पाप्रा उप्काएर कन्याउँदै गर्दा एक छिनका लागि असीम आनन्दको अनुभूति हुन्छ । झन् जोडले कन्याउन मन लाग्छ । संक्रमण भने थाहा नपाई फैलिरहेको हुन्छ । शक्तिपूजकहरू जस्तोसुकै समाजमा हुन्छन् । त्यस्तो जमातको आकार भने दरिद्र देशहरूमा अलि ठूलो हुने रहेछ । नृजातीय राष्ट्रवादका ठेकेदार एवं खस–आर्य पहिचान प्रमुखताका पैरोकारहरूले प्रधानमन्त्री शर्मा ओलीको देवत्वकरण गरेर उनलाई नेपाली राष्ट्रियताको एक मात्र पहरेदारका रूपमा बजरंगबली हनुमान् बनाएर सिंहासनमा आसीन गराइसकेका छन् । मिथकीय हिममानव यतीभन्दा नितान्त फरक तवरले परिकल्पना गरिएको पर्यटन वर्ष–२०२० को प्रतीक मूर्तिलाई ठट्टैठट्टामा ‘ओलीयती’ नामकरण गरे हुने रहेछ १ तर, राष्ट्रियताका सही संरक्षक एवं प्रवर्द्धक शासक नभएर जनता स्वयं हुन्छन् भन्ने कुरा स्थापित नभएसम्म देश अगाडि बढ्न सक्दैन । त्यस दृष्टिकोणबाट हेर्दा प्रधानमन्त्री शर्मा ओली सामूहिक उत्थानको भर्याङको साटो तगारोजस्तो बन्न पुगेका छन् । उनको हालसम्मको योगदानलाई सम्मान गर्दागर्दै पनि विकल्प खोज्न हच्किनुपर्ने कारण छैन ।
प्रजातान्त्रिक राजनीतिमा व्यक्तिपूजाका जोखिमहरूबारे सबभन्दा सपाट भाषामा स्वाधीनता अवधारणाका व्याख्याता जोन स्टुअर्ट मिलले वर्णन गरेका छन् । महान् व्यक्तिका योगदानहरूप्रति कृतज्ञ हुनु स्वाभाविक हो । तर ‘तिनका पाउमा आफ्नो स्वतन्त्रता चढाउनु वा तिनलाई संस्थाहरू स्खलित तुल्याउने अधिकार दिइनु’ सरासर प्रत्युत्पादक ठहरिन सक्छ । त्यसै तर्कलाई तन्क्याउँदै भारतका संविधान निर्माता बाबासाहेब अम्बेडकरले सतर्क तुल्याउँछन्, ‘धर्ममा भक्तिले भलै मुक्ति देला, राजनीतिमा भने व्यक्तिपूजाले अराजकता वा निरंकुशतातिर डोर्याउँछ ।’ समसामयिक भारतीय राजनीतिमा अराजकता एवं निरंकुशताको विस्फोटक मिश्रण देखिँदै छ । नेपालमा त्यस्तो परिस्थिति उत्पन्न हुन नदिने जिम्मेवारी पनि सत्ताधारी दलकै हो । किनभने संसद, सभागृह एवं सडकमध्ये कतै पनि प्रतिपक्षको उपस्थिति देखिँदैन ।
जनजाति एवं मधेशीको राजनीतिक अगुवा भएको दाबी गर्ने उपेन्द्र यादव किन सरकारमा गए, त्यहाँ रहँदा उनले के पाए वा के गुमाए अथवा महत्त्वपूर्ण अवधि त्यसै खेर गयो कि भन्ने लेखाजोखा गरेर आफ्ना समर्थकहरूसित माफी नमागेसम्म उनी नवराजनीतिका संवाहक बन्न सक्नेछैनन् । कसैको हातमा इँटा, कसैको हातमा काठ त कसैको हातमा ज्यावल रहेको राजपा नेपालले यस्तो तालले आफ्नो घर ठड्याउला भन्ने विश्वास तिनका आफ्नै कार्यकर्तामा पनि छैन । जस्तोसुकै ‘तीन, तेह्र तिकडम’ गरे पनि राप्रपा वा त्यसका प्रतिच्छाया दलहरूसँग तत्काल विकल्प बन्न सक्ने औकात छैन । घुमीफिरी चक्रपथ भने त्यही हो । नेकपा दोहोरोभित्रैबाट प्रधानमन्त्री शर्मा ओलीको विकल्प खोज्नुको विकल्प अहिलेलाई छैन । अझ आफ्नो विकल्प खोज्ने जिम्मेवारीसमेत सत्ताधारी दलका अध्यक्ष शर्मा ओली स्वयंको हो । उनले आफ्नो भजनमण्डलीलाई पत्याएर ‘मेरो विकल्प मै हुँ’ भन्ने जिद्दी कसे भने बित्यास निम्तिन सक्छ ।
होली सकिएपछि गाइने एउटा चैतावरका केही पंक्ति जीवनका बाध्यताहरू औंल्याउन उपयोगी ठहरिन सक्छ, ‘कंकर चुनी–चुनी महल उठायो, लोगवा कहत हैं घर मेरो हो रामा र ना घर तेरा ना घर मेरा, ई घर रैनबसेरा हो रामा ।’ बालुवाटारमा नयाँ आवासीको प्रतीक्षा गर्ने बेला भयो । नेपालीय मिथिलाका होलैयाहरूलाई रंगोत्सवको शुभकामना । कान्तिपुर दैनिकवाट साभार