आहा रारा गोल्डकप – फाइनल पुग्न थ्री स्टार र पुलिस भिड्दै

फागुन २८, काठमाडौं – पोखरामा जारी १८ औं संस्करणको आहा रारा गोल्डकप फुटबलको पहिलो सेमिफाइनल खेल आज बुधबार हुँदैछ ।

पोखरा रंगशालामा हुने पहिलो सेमिफाइनलमा साविक विजेता थ्री स्टार क्लब र विभागीय टिम नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

बलियो पुलिसविरुद्ध मैदान उत्रदा थ्री स्टार लगातार फाइनल पुग्ने लक्ष्यमा हुनेछ । तर, थ्री स्टारले पुलिसको कडा चुनौती पन्छाउनु पर्नेछ ।

थ्री स्टारले क्वाटरफाइनलमा गान्तोक सिटी एफसी सिक्किमलाई ३-० गोल अन्तरले पराजित गरेको थियो । पुलिसले आयोजक सहारा क्लब पोखरालाई हराएर सेमिफाइनल पुगेको हो ।

दुई टोलीबीचको विजेताले फाइनलमा मनाङ मर्स्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लबबीचको विजेतासँग खेल्नेछ ।

सहारा क्लब पोखराको आयोजना जारी प्रतियोगिताको विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।