फागुन २८, काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संयुक्तबीच बुधबार (आज) एकीकरणको औपचारिक घोषणा हुँदैछ।
राष्ट्रियसभा गृहमा दिउँसो साढे १२ बजे विशेष कार्यक्रमका बीच एकता घोषणा हुने बताइएको छ ।
शनिबार राति पार्टी एकताको सहमति पत्रमा राप्रपा अध्यक्ष कमल थापा, राप्रपा संयुक्तका डा प्रकाशचन्द्र लोहनी र पशुपति शमशेरले हस्ताक्षर गरेका थिए।
घोषणा सभालाई राप्रपाका तीनै जना नेताहरु कमल थापा, डा प्रकाशचन्द्र लोहनी र पशुपति शमशेरले सम्बोधन गर्ने छन्।
२०४७ साल जेठ १५ गते आधिकारीक रुपमा दर्ता भएको राष्ट्रिय प्रजातन्त्र पार्टी बीचमा ५ पटक फुटेको छ भने ४ पटक जुटेको छ। २०७३ मंसिर ६ गते एकता भएको राप्रपा २ वर्ष नपुग्दै २०७४ साउन २२ मा फुटेको थियो।
यो दुई वर्षको अन्तरालमा राप्रपा फेरि एक ठाउँमा आएका छन्।