फागुन २८, एजेन्सी – कोभिड–१९ सङ्क्रमणको कारण ४ हजार २९५ व्यक्तिको मृत्यु भएको फ्रान्सेली समाचार संस्था एएफपीले मङ्गलबार जनाएको छ । यस भाइरसबाट एक लाख १९ हजार १७९ जनामा सङ्क्रमण पुष्टि भएको छ । यसमध्ये ६६ हजार ६१७ जना निको भएर घर फर्किएका छन् ।
बङ्गलादेश, अल्बानिया र पाराग्वेमा तीन वटा नयाँ देशमा कोभिड–१९ का सङ्क्रमण देखिएपछि विश्वव्यापी स्वास्थ्य चुनौतीको चिन्ता बनेको कोरोना भाइरस संसार ११९ देशमा फैलिएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ ।
गत वर्षको अन्त्यबाट यस भाइरसको सङ्क्रमण शुरु भएको चीनको हुबेई प्रान्त वुहानमा एकै दिनमा १७ व्यक्तिको मृत्यु भएपछि चीनभरी यस रोगबाट मृत्यु भएपछि तीन हजार १५८ पुगेको जनाइएको छ ।
एक दिनमा मारिएका १७ मध्ये १६ जना हुबेईको प्रान्तीय राजधानी वुहानका रहेका जनाइएको छ । चीनमा कोरोना भाइरस सङ्क्रमणको कारण जनवरीको अन्त्यदेखि हालसम्म एकै दिनमा मृत्यु भएको यो सबैभन्दा कम सङ्ख्या भएको पनि समाचारमा जनाइएको छ ।
इटालीमा यस भाइरसको सङ्क्रमणपछि मृत्यु हुने व्यक्तिको संख्या ६३१ पुगेको जनाइएको छ । यहाँ संक्रमित १० हजार १ सय ४९ जना छन् । त्यसैगरी दक्षिण कोरियामा सात हजार ५१३ जना सङ्क्रमित रहेका र ६० जनाको मृत्यु भएको जनाइएको छ ।
यसैबीच प्राप्त समाचार अनुसार इरानमा सात हजार १६१ जना सङ्क्रमित रहेका र २३७ व्यक्तिको मृत्यु भएको मङ्गलबार प्राप्त समाचारमा जनाइएको छ । विश्वका विभिन्न तथ्याङ्कबारे जानकारी राख्ने वेभसाइट वल्डोमिटरका अनुसार कोरोना भाइरसको सङ्क्रमणपछि उपचार गराएर घर फर्किनेहरु ९४ प्रतिशत रहेको छ ।
घातक कोरोना भाइरसबाट सङ्क्रमितहरु भारतमा ५६ पुगेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । मङ्गलबारसम्म ५६ जनामा कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ ।उनीहरुमध्ये केरलाका तीन जनालाई पूर्ण उपचारपछि अस्पतालबाट फिर्ता गरिएको पनि सरकारी अधिकारीहरुले बताएका छन् ।
उता जर्मनीमा भने सङ्क्रमितको सङ्ख्या एक हजार नाघेको छ । रोबर्ट कोच इन्स्टिच्यूटले सोमबारसम्ममा एक हजार ११२ जना सङ्क्रमित भएको जनाएको छ । यसैबीच माल्दिभ्समा कोरोनाका कारण चुनावी कार्यक्रम स्थगित गरिएका छन् । बेलायतमा कोरोना भाइरस सङ्क्रमितको संख्या ३१९ पुगेको बेलायतका स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।
आसन्न स्थानीय निकाय र महिला विकास समितिको निर्वाचनका लागि भइरहेको कार्यक्रमहरु स्थगित गरिएको अधिकारीहरुले बताएका छन् । उनीहरुका अनुसार माल्दिभ्समा अहिलेसम्म दुई जनामा सङ्क्रमण भएको पुष्टि भएको छ ।
जापानमा भने मृत्यु हुनेहरूको सङ्ख्या सोमबारसम्म १६ पुगेको छ । सङ्क्रमित ५०५ पुगेको छ । स्थानीय समय अनुसार सोमबार बेलुका ८ः३० बजेसम्ममा थप १० जना बिरामी भेटिएका छन् । जापानको स्वास्थ्य मन्त्रालय र स्थानीय सरकारले टोकियोमा ७६ र ओशाकामा ५५ जना बिरामी रहेको जनाएका छन् ।
त्यसैगरी बेल्जियममा सङ्क्रमितको संख्या २३९ पुगेको छ भने हङ्कङमा ११५, प्यालेस्टाइनमा २५, मलेसियामा ११७, कुवेतमा ६५ र इन्डोननेसियामा १९ जनामा कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ । कोरियामा रहेका आठ जना अमेरिकी सैनिकलाई पनि कोरोनाको सङ्क्रमण भएको छ ।