चप्पल उद्योगमा आगलागी हुँदा एक घाइते, लाखौंको क्षति

फागुन २८ काठमाडौं  – बाँकेको एक चप्पल कारखानामा आगलागी हुँदा एक जना गम्भीर घाइते भएका छन् ।

बाँकेको जानकी गाउँपालिका–३ इन्द्रपुरस्थित चप्पल उद्योग जयश्री सियाराम कारखानामा गए राति करिब १२ बजेबाट शुरु भएको आगलागीमा त्यहाँ कार्यरत कामदार दिलीपकुमार चमार गम्भीर घाइते भएका छन् । शरीरका अधिकांश भाग जलेको अवस्थामा उद्धार गरेर उहाँलाई उपचारका लागि भेरी अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

आगलागी आज बिहान ८ बजेमात्रै पूर्णरुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए ।

आगलागीबाट उद्योगको कच्चा पदार्थ र उत्पादित सबैजसो सामग्री नष्ट भएको छ । बाँके र बर्दियाका छ वटा दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेनाको निरन्तरताको प्रयासले आठ घण्टापछि मात्रै आगो नियन्त्रणमा आएको प्रहरी नायब उपरीक्षक सिंहले बताए ।

अमरजित सिंह र मनु केडियाले सञ्चालन गरेको उक्त उद्योगमा चप्पल, सरसफाइ ब्रस र पोछालगायतका सामग्री उत्पादन हुँदै आएको थियो । होली पर्वमा कामदार बिदामा रहेका कारण आगलागीबाट भएको क्षतिको यकिन विवरण आउन सकेको छैन  ।

आगलागीबाट ८÷१० करोड रुपैयाँ मूल्य बराबरका मालसामान जलेर नष्ट भएको सञ्चालक सिंहले दाबी छ । प्रहरीले क्षतिको यकिन विवरण संकलनको काम भइरहेको जनाएको छ ।

विद्युत्त लाइन सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरे पनि यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।