फागुन २७, काठमाडौं – राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले कतारको दोहामा गर्दै आएको नियमित उडान हाललाई स्थगन गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को सन्त्रासका कारण निगमले आजैदेखि लागू हुनेगरी दोहा गन्तव्यको उडान स्थगन गर्ने निर्णय गरेको हो ।
कतारले कोरोना भाइरसको सङ्क्रमण जोखिमलाई न्यूनीकरण गर्न नेपालसहित विभिन्न १४ मुलुकका नागरिकलाई कतारमा प्रवेश गर्न अस्थायी प्रतिबन्ध लगाएपछि निगमले उक्त मुलुकको उडान स्थगन गर्नुपरेको निगमले विज्ञप्तिमार्फत जनाएको छ । पनि हाललाई कतार प्रवेश गर्न नपाउने भएकाले दोहाको नियमित उडान हाललाई १० मार्च २०२० बाट अर्को निर्णय नहुन्जेल स्थगन गर्नुपरेको हो”, निगमको विज्ञप्तिमा भनिएको छ ।
निगमले २०७६ फागुन २६ गते र सो भन्दा पछिका उडानका टिकट खरीद गरेका यात्रुलाई टिकट फिर्ता गर्दा भुक्तानी गरेको रकम पूरै उपलब्ध गराइने जनाएको छ ।
त्यस्तै टिकटको उडानको मिति दुई पटकसम्म परिवर्तन गर्न शुल्क नलाग्ने व्यवस्था गरिएको जनाएको छ । निगमले हालसम्म दोहाका लागि हप्तामा सातै दिन उडान गर्दै आएको थियो । यसअघि हिमालय एयरलाइन्सले सोमबारदेखि लागू हुनेगरी दोहा गन्तव्यको उडान रोक्ने निर्णय गरेको थियो ।