नेपालमा चार महिनालाई पुग्ने औषधि मौज्दात

फागुन २३, काठमाडौं बजारमा औषधि अभावको हल्ला चलिरहेको बेला औषधि सम्बन्धी काम गरिरहेका व्यवसायीले हल्लाको पछि नलाग्न आग्रह गरेका छन् । नेपाल औषधि आयात कर्ता संघका महासचिव पवन आचार्यले आफूहरुसँग चार महिनालाई पुग्ने औषधि मौज्दात रहेको जानकारी दिए ।

सामाजिक सञ्जालमा औषधिको अभाव भन्ने खबरले जनतालाई भ्रम सृजनासमेत गरेको उनले बताए । नेपालका तीन करोड जनतालाई पुग्ने औषधि व्यवसायीहरुसँग रहेको जानकारी दिदै हल्लाको पछि लागेर अनावश्यक औषधि खरिद गरेर नराख्न सर्वसाधारणलाई महासचिव आचार्यले आग्रह गरे । हिजो मात्रै एक व्यवसायीले बंगलादेशबाट दुई करोड प्यारा सिटामोल नेपाल ल्याउन सुरु गरेको समेत महासचिव आचार्यले जानकारी दिए ।

बिभिन्न मुलुकहरुबाट व्यवसायीहरुले आयात गरिरहेको र बजारमा औषधि स्टक रहेकाले औषधिको बारेमा अनावश्यक हल्ला गर्न आवश्यक नरहेको उनले स्पष्ट पारे। यता औषधि उत्पादन गर्दै आएको नेपाल औषधि उत्पादक संघले नेपालमा ७० देखि ८० प्रकारका औषधि आफूहरु उत्पादन गर्न सक्षम भएको बताएको छ ।

नेपालमा धेरै औषधि यहीं उत्पादन हुने भएकाले औषधि अभाव हुन नदिन व्यवसायीहरु छलफलमा लागि रहेको नेपाल औषधि उत्पादक संघका महासचिव बिप्लब अधिकारीले जानकारी दिए । भारत र चीनबाट औषधि आउन रोकिहाले पनि बंगलादेश लगायत अन्य देशबाट कच्चा प्रदार्थ ल्याएर औषधि बनाउन सकिने उनले जानकारी दिए ।