शहरी विकास मन्त्रालयको ३७ प्रतिशत वित्तीय प्रगति

फागुन १९, काठमाडौं – शहरी विकास मन्त्रालयले चालू आर्थिक वर्षको दोस्रो चौमासिक अवधिमा ३७ प्रतिशत वित्तीय प्रगति गरेको छ ।

शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले १०० दिनमा भएका कामको जानकारी दिन आइतबार मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा रु ३६ अर्ब ८५ करोड कूल बजेटमध्ये रु १३ अर्ब ६५ करोड खर्च भएको बताए । कामको गति हेर्न अनुगमन र निर्देशनलाई समेत निरन्तरता दिइएको मन्त्रालयले जनाएको छ ।

पाँच अर्ब तीन करोडको लागतमा १२ भवनसहित निर्माणाधीन संसद् भवन, मन्त्री निवास, मुख्यमन्त्री निवास र सभागृह निर्माणलाई तीव्रता दिन मन्त्रालयबाट आवश्यक व्यवस्था मिलाइएको राज्यमन्त्री मानन्धरले जानकारी दिए ।

बालाजुबाट भित्री ग्रामीण क्षेत्र प्रवेश गर्ने दगुर्नेपानीमा वर्षौँदेखि अल्झिएको मुआब्जा विवाद समाधान गराइएको छ, यो मार्ग भएर जाने काँठ क्षेत्रको आवागमनमा सहजता आएको छ, शेषमती–जरङ्कु–ठाँटी र माछापोखरी–बाइपास सडक कालोपत्र गराइएको छ” उनले भने ।
इचङ्गुनारायण जग्गा एकीकरण आयोजनाको प्रवेशमार्ग फराकिलो गर्न त्यस ठाउँमा रहेका घरजग्गाको मुआब्जा विवाद समाधान गरिएको मन्त्रालयले जनाएको छ ।

सरकारले घोषणा गरेका २७ नयाँ शहरमध्ये मध्यपहाडी लोकमार्गमा पर्ने १० शहर निर्माण अघि बढाइएको छ ।  राजधानी र देशका मुख्य शहरमा रहेका ट्राफिक जाम एवं पार्किङ समस्या समाधानका लागि पनि मन्त्रालयले सरोकार भएका निकायबीच समन्वय गरिरहेको जनाइएको छ ।

राजधानीको फोहर व्यवस्थापनका लागि नुवाकोट र धादिङको सीमास्थलस्थित बञ्चरेडाँडामा स्यानेटरी ल्याण्डफिल साइट वैशाखमा मात्र सम्पन्न गर्न सकिने भएको छ ।