फागुन १८, काठमाडौं – विपन्न विद्यार्थीलाई छात्रवृत्ति दिन विनियोजित बजेट सरकारी खातामै सीमित हुने गरेको छ । पहुँच नभएका विद्यार्थी झन्झटिलो प्रक्रिया पार गर्न र छात्रवृत्ति प्राप्त गर्न असफल छन् ।
अघिल्लो आर्थिक वर्षमा माध्यमिक तह (कक्षा ९–१२) मा ५३ हजार पाँच सय ५९ विपन्न विद्यार्थीलाई लक्षित गरी ९८ करोड ५१ लाख चार हजार रुपैयाँ विनियोजन गरिएको थियो । तर, १२ हजार सात सयले मात्र छात्रवृत्ति पाएका छन् ।
यसरी करिब एक अर्ब बजेटबाट १७ करोड ५१ लाख १० हजार मात्र वितरण भएको छ । विपन्नलक्षित छात्रवृत्ति पाउन विद्यार्थीले अनलाइनमार्फत ‘प्रोक्सी मिन्स टेस्टिङ’ (पिएमटी) फारम भरेर विपन्न भएको पुष्टि गर्नुपर्छ । यसरी प्रक्रिया र्पुयाएर आवेदन नगरे छात्रवृत्ति पाइँदैन । तर, सरकारी जाँचमा विद्यार्थीको विवरण पुष्टि हुनुपर्छ ।
कक्षा १० मा फारम भरेर छनोटमा परेपछि कक्षा ११ मा बैंक खाता खोल्नुपर्छ । तब मात्र छात्रवृत्ति रकम बैंकमा जम्मा हुन्छ । यो सबै प्रक्रिया पूरा भएकाले मात्र छात्रवृत्ति पाउँछन् । तर, धेरै विद्यार्थी फारम खुलेको थाहा पाउँदैनन् । थाहा पाउनेले पनि अनलाइन विवरण भर्न सक्दैनन् ।
विद्यालयले थाहा पाए पनि विद्यार्थीलाई सहयोग गर्दैनन् । फारम भरेर छनोट भएका विद्यार्थीले पनि बैंकमा खाता खोल्नुपर्छ भन्ने जानकारी पाउँदैनन् ।
यसरी विभिन्न झन्झटिलो प्रक्रिया पार गर्दा धेरै विद्यार्थी खाली हात हुन्छन् । विपन्न विद्यार्थी पढाइ छाड्छन्, सरकारी बजेट फ्रिज हुन्छ । आर्थिक वर्ष ०७४र७४ देखि शिक्षा मन्त्रालयले माध्यमिक तह (कक्षा ९–१२)मा विपन्नलक्षित छात्रवृत्ति कार्यक्रम ल्याएको थियो ।
मन्त्रालयले कक्षा ११ र १२ मा विज्ञान पढ्ने विद्यार्थीलाई वार्षिक २४ हजार र अन्यलाई १८ हजार दिने व्यवस्था गरेको छ । त्यसैगरी कक्षा ९ र १० मा अध्ययन गर्ने विद्यार्थीलाई वार्षिक ६ हजार रुपैयाँ दिने व्यवस्था छ ।
तर, पहिले एक हजार सात सयसम्म छात्रवृत्ति पाउने विद्यार्थी समेत विपन्नलक्षित छात्रवृत्ति सुरु भएपछि पुरानो रकम पाउनबाट वञ्चित भएका छन् । माध्यमिक तहमा मात्र करिब ६० हजारले छात्रवृत्ति पाउँदै आएका थिए ।
शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्रले विपन्न विद्यार्थी छनोट र रकम वितरणको जिम्मा विद्यार्थी वित्तीय सहयोग कोष विकास समितिलाई दिएको छ । समितिका अनुसार आर्थिक वर्ष ०७५र७६ मा १२ हजार सात सय २५ विपन्न विद्यार्थीले मात्र छात्रवृत्ति पाएका छन् ।
समितिको तथ्यांकअनुसार ०७५र७६ मा कक्षा ९ मा तीन हजार आठ सय ५७ छात्रा र तीन हजार ४० छात्र गरी कुल ६ हजार आठ सय ९७ ले छात्रवृत्ति पाए । त्यसैगरी कक्षा १० मा दुई हजार ४८ छात्रा र एक हजार पाँच सय २८ छात्र गरी तीन हजार ७६ ले छात्रबृत्ति पाए ।
कक्षा ११ मा एक हजार चार सय ७२ छात्रा र आठ सय ८० छात्रा गरी दुई हजार दुई सयले छात्रबृत्ति पाए । केन्द्रका अनुसार सो आर्थिक वर्षमा विज्ञानबाहेक (९–१२ कक्षासम्म)का विषयमा अध्ययन गर्ने ५० हजार ५२ विद्यार्थीलाई लक्षित गरी ९० करोड ९ लाख ३६ हजार रकम बिनियोजन भएको थियो ।
कक्षा ११ र १२ मा बिज्ञान पढ्ने तीन हजार पाँच सय सात विद्यार्थीका लागि आठ करोड ४१ लाख ६८ हजार रुपैया बिनियोजन भएको थियो । ०७४र०७५ मा २५ जिल्लाबाट विपन्न विद्यार्थीलाई लक्षित गरी माध्यमिक तहमा यस्तो कार्यक्रम सुरु भएको थियो ।
पहिलो वर्षमा समितिमार्फत पाँच हजार आठ सय १२ विद्यार्थीलाई आठ करोड ९४ लाख ७२ हजार रुपैया बितरण गरेको समितिका अनुगमन अधिकृत तारा चौहानले बताए । उनले फारम भर्नेहरूले खाता खोलेर समितिमा जानकारी नगराउँदा रकम बितरणमा समस्या भएको बताए । ‘विद्यार्थी छनोट भएको जानकारी नहुने तथा बैंकमा खाता खोल्ने विद्यार्थीको इन्ट्री विद्या विद्यार्थीको इन्ट्री विद्यालयले नगरिदिँदा समस्या भएको हो,’ उनले भने । यो समाचार आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।