फागुन १५, काठमाडौं – जनशक्तिसँगै उपकरणको प्रयोग गरी सवारी परीक्षण गर्ने उद्देश्यले सरकारले सवारी परीक्षण केन्द्र शुरुआत गरे पनि स्थापना भएदेखि नै यो सञ्चालनमा आउन सकेको छैन ।
सडक दुर्घटनाको प्रमुख कारणका रुपमा सवारी साधनको अवस्थालाई लिने गरिएकाले त्यो कम गराउन केन्द्रको स्थापना भएको हो । सवारीसाधनको सबै भागको आवश्यक जाँच गरी कुनै समस्या देखिएकामा त्यो पहिचान गर्ने काम केन्द्रले गर्छ । तर केन्द्रमा रहेको उपकरण बिग्रिएकाले अहिले प्रयोगमा आउन सकिरहेको छैन ।
लामो समयदेखि बिग्रिएर थन्किएको उपकरण मर्मत गर्न नसकिँदा त्यसलाई पुनःप्रयोगमा ल्याउन नसकिएको हो ।सरकारले विसं २०६८ मा स्थापना गरेको केन्द्र लामो समयसम्म आवश्यक कानूनको अभावलगायतका कारणले सञ्चालन हुन सकेको थिएन । विसं २०७२ देखि उपकरण सञ्चालनको प्रयास गरिए पनि त्यति बेलासम्म बिग्रिएकाले त्यो पूर्णरुपले प्रयोगमा आउन नसकेको हो ।
उपकरण (प्लान्ट) ले काम नगरेकाले केन्द्रमा मानिसले नै गर्नसक्ने जाँच मात्रै भइरहेको इञ्जिनीयर सञ्जय थिङले बताउनुभयो । उहाँका अनुसार अहिले यहाँबाट साना सवारीसाधनको जाँच भइरहेको छ । ट्याक्सी, माइक्रो, ट्याम्पोलगायतका साना सार्वजनिक सवारीसाधनको मानिसबाटै (म्यानुअल) जाँच भइरहेको छ । उनले भने, प्यान्टलाई हामीले प्रयोगमा ल्याउन सकिरहेका छैनौँ ।”
काठमाडौँ महानगरपालिकाले सवारीसाधनको जाँचपास गराएर हरियो स्टिकर टाँसेपछि मात्रै चल्न दिने नियम बनाएको छ । त्यसैले पनि सवारीसाधन छ÷छ महिनामा आउने गरेका छन् । एकपटकमा आएर पास नभएका सवारीसाधनले आवश्यक मर्मत गरेर पुनःजाँचका लागि आउने गरेको उनले बताए ।
केही समय पहिलेसम्म लामो दूरीका बसको पनि जाँच हुने गरेकामा हाल त्यो रोकिएको इञ्जिनीयर थिङले बताउनुभयो । ठूला बस जानका लागि सो स्थानमा जाम हुने भएकाले हालका लागि रोकिएको छ । निकट भविष्यमा चक्रपथ बाहिर पनि केन्द्र स्थापना गरेर ठूला सवारीसाधनको समेत जाँच गर्ने केन्द्रको योजना छ ।
केन्द्रमा हाल प्रमुखसहित तीन जना मेकानिकल इञ्जिनीयरको दरबन्दी छ । सीमित प्रकारका र उपत्यकामा चल्ने साना सवारीसाधन मात्रै हुँदा पर्याप्त भए पनि आगामी दिनमा सबै सवारीसाधन जाँच हुँदा सो दरबन्दीसमेत अपर्याप्त हुनसक्ने उनले बताए ।
केन्द्रमा दैनिक ९० देखि एक सयसम्म सवारीसाधनको जाँचपास हुने गरेको इञ्जिनीयर थिङले बताउनुभयो । अहिले मान्छेले नै हेर्दाभन्दा उपकरण समेत प्रयोगमा आउने हो भने दैनिक कम सवारीसाधनको जाँच गर्न सकिन्छ ।एउटा सवारीसाधनको जाँच गर्न २० देखि २५ मिनेट लाग्ने हुँदा कार्यालय समयमा एउटा प्यान्टबाट दैनिक २०÷२५ वटासम्म सवारीसाधनको जाँच गर्न सकिने उहाँको भनाइ छ । सवारीसाधनको जाँच भइरहेको उनले बताए ।
यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले ‘प्लान्ट’ मर्मतका लागि समिति बनाइएको बताए । सो उपकरण मर्मत नै गरेर सञ्चालन गर्ने कि नयाँ खरिद गर्नुपर्छ भनी समितिले टुङ्गो लगाउने उनको भनाई रहेको छ ।
रासस