फागुन ७, काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै प्रजातन्त्रले अझै सार्थकता पाउन नसकेको बताएका छन्।
एक विज्ञप्ति जारी गर्दै उनले भनेका छन् ‘विभिन्न वैदेशिक भ्रमणमा जब जान्छौं, त्यहाँ सुन्ने र बुझ्ने गर्दछौं– नेपालको प्रजातन्त्र जनजीवनको उत्थानमा, उमंगमा र उत्साहमा सार्थक हुन सकिरहेको छैन।’
प्रजातन्त्र टाठाबाठाका लागि तथा केहीको आर्थिक स्वार्थका लागि मात्रै हुन नहुनेमा उनले जोड दिएका छन्। प्रजातन्त्र देश र सबै जनताको लागि प्रतिफलकारी हुनुपर्ने उनको भनाइ छ।
मुलुकले ७० वर्ष लामो इतिहासको सम्झना गर्दै प्रजातन्त्र दिवस मनाइरहँदा पनि यसले सार्थकता नपाउनु दुःखद भएको भन्दै उनले यसमा ‘सबै पक्षले जिम्मेवारबोध गरुन्, भनेका छन्।
उनले भनेका छन् ‘प्रजातन्त्र शव्दमा होइन, कर्ममा उत्रनु पर्छ, रुपमा होइन सारमा झल्कनुपर्छ।’ प्रजातन्त्र जनताको जीवन पद्दति र व्यवहारमा देखिनुपर्ने उनको भनाइ छ।