फागुन ३, काठमाडौं – सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा ‘निजी व्यवसाय दर्ता गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६’ पारित भएको छ ।
बैठकमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले प्रदेशसभाबाट उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गरेका छन् ।
यसअघि, उक्त विधेयकमाथि भएको छलफलमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का लीलाधर भट्ट, दुर्गाकुमारी कामी, शान्ति नेपाली, नेपाली काँग्रेसका डिल्लीराज पन्त, श्यामलाल रानाथारु, राष्ट्रिय जनता पार्टीका मालामतिकुमारी रानाथारुले भाग लिएका थिए ।
बैठकको प्रारम्भमा समय लिएर नेपाली काँग्रेसका प्रदेशसभा सदस्य कर्णबहादुर मल्लले अछामको विनायक नगरपालिका—२ का वडाध्यक्ष पदमबहादुर धामीको हत्या भएको १२ दिन भइसक्दा पनि घटनाका दोषी पत्ता लगाउन नसक्नुले लज्जाबोध भएको र जनप्रतिनिधिलेनै असुरक्षा महसुस गरिरहेको बताए । अर्को बैठक यही फागुन ४ गते दिनको १ बजे बस्ने छ ।