विकास खर्च नहुनुमा कर्मचारीसँगै जनप्रतिनिधि पनि दोषी –मन्त्री अर्याल

फागुन २, काठमाडौ – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले योजना माग गर्ने तर रकम खर्च नहुने परम्पराप्रति असन्तुष्टि व्यक्त गरेकी छन् ।

जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालय स्याङ्जाले गरेको कार्यक्रममा मन्त्री अर्यालले विकासका कार्यमा जनप्रतिनिधिको सहजीकरण अभाव रहेको बताइन् ।

उनले भनिन ‘कर्मचारीले मात्र रकम खर्च गरेनन् भन्दा पनि जनप्रतिनिधिहरुले कति सहजीकरण गरेका छन् भन्ने महत्वपूर्ण हो।’ उनले योजना नपरेको नभई काम नभएको उल्लेख गर्दै अहिलेसम्मका ठेकेदारी प्रकृयामै समस्या रहेको बताइन् ।

क्षमता नै नभएका ठेकेदारले योजना होल्ड गरि राख्ने प्रवृत्ति अन्त्य हुनुपर्ने उनले बताइन्।  काम गर्नका निम्ति तत्परता देखाएमा बजेटको कुनै समस्या नहुने मन्त्री अर्यालको दाबी छ ।उनले जनप्रतिनिधि तथा कर्मचारीलाई भनिन्,‘काम गर्ने तत्परता देखाउनुस पैसाको व्यवस्था म गर्छु।’