कोरोनाको त्रासले ‘फोर नेसन्स कप’स्थगित

फागुन १, काठमाडौं । मदन भणडारी स्पोर्ट्स एकेडेमीको आयोजना तथा अखिल नेपाल फुटबल संघ (एन्फा)को प्राविधिक सहयोगमा फागुन १५ गतेदेखि २४ गतेसम्म काठमाडौंमा हुने तय भएको ‘फोर नेसन्स कप’ अनिश्चित कालका लागि स्थगित भएको छ।

दशरथ रङ्गशालामा हुने प्रतियोगितामा यसअघि आयोजक नेपालसहित अफगानिस्तान, पाकिस्तान र मोरिसस सहभागी हुने तय भएको थियो। तर, पछिल्लो समय चीनबाट सुरु भएको कोरोना भाइरसबाट त्रसित भएर सहभागी टोली नआउने भएपछि प्रतियोगिता स्थिगत भएको आयोजकले बताएको छ ।

प्रतियोगिता राउन्ड रोबिन लिग पद्धतिका आधारमा सञ्चालन हुने र शीर्ष दुई टोलीले फाइनल खेल्ने यसअघिको तालिका थियो।

प्रतियोगिताको विजेताले २५ हजार अमेरिकी डलर तथा उपविजेताले १० हजार डलर प्राप्त गर्ने यसघि आयोजकले घोषणा गरेको थियो।