माघ १९, काठमाडौं – शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत मनाङ मर्स्याङ्दी क्लबले नेपाल पुलिस क्लबलाई दुई–शून्य गोल अन्तरले पराजित गर्दै अङ्क तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।
सातदोबाटोको एन्फा मैदानमा भएको खेलमा मनाङले दुवै गोल खेलको पहिलो हाफमा गरेको थियो । खेलको ३२औँ मिनेटमा आदित्य चौधरीको लामो पास अञ्जन राईले क्लियर गर्न नसककेको बललाई विमल रानाले गोल गर्दै मनाङलाई अग्रता दिलाएका थिए ।
४३ औँ मिनेटमा अन्जन विष्टको गोलमा मनाङले अग्रता दोब्बर बनायो । अञ्जनले निशान लिम्बुको पासमा हेडमार्फत गोल गरेका थिए ।
मनाङ सात खेलमा जित, चारमा बराबरी र एक खेलमा हार ब्यहोर्दै तेस्रो स्थानमा छ। मिश्रित खेल पस्कँदै आएको पुलिस क्लब भने पाँचमा जित दुईमा बराबरी र पाँच खेलमा हार ब्यहोर्दै १७ अङ्कसहित छैठौँ स्थानमा छ।
मनाङले गएको संस्करणमा सङ्कटा क्लबलाई हराउँदै आठौँ पटक लिगको उपाधि उचालेको थियो । यसअघि मनाङले २०४३, २०४४, २०४६, २०५७, २०६०, २०६२, २०७० र २०७५ सालमा लिगको उपाधि जितेको थियो।
लिगको उपाधिका लागि भने शीर्षस्थानको त्रिभुवन आर्मी र मच्छिन्द्र क्लबबीच प्रतिस्पर्धा हुनेछ ।