नेपालले चीनलाई भन्योः शनिबार वुहानबाट नेपाली फर्काउँछौं

माघ २८, काठमाडौं – नेपालले चीनलाई त्यहाँ रहेका आफ्ना नागरिकलाई आगामी शनिबार फर्काउन चाहेको जानकारी गराएको छ।

परराष्ट्र मन्त्रालयले नेपालस्थित चिनियाँ दूतावासमार्फत चीन सरकारलाई यही फेब्रुअरी १५ (फागुन ३) मा आफ्ना नागरिक उद्धार गर्न चाहेको जानकारी गराएको हो ।

चीनस्थित नेपाली दूतावासलाई पनि परराष्ट्रले नेपाली स्वेदश फर्काउन आवश्यक तयारी गर्न निर्देशन दिएको छ । यो सँगै चीनमा प्राणघातक कोरोना भाइरसको त्रासमा रहेका नेपाली नागरिक स्वदेश फर्किने निश्चित भएको छ।

चीनमा रहेका नेपाली ल्याउन फागुन ३ गते नेपाल वायुसेवा निगमको वाइडबडी जहाज त्यसतर्फ पठाइने भएको छ । एयरबस ३३०(२०० सिरिजको दुई सय ७४ सिटे जहाज चीनको उहान पठाउने तयारी गरिएको हो।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाली नागरिक उद्धार गर्न आवश्यक सबै प्रक्रिया थाल्न परराष्ट्र, स्वास्थ्य, पर्यटन र रक्षा मन्त्रालयलाई निर्देशन दिएको छ ।

उताबाट ल्याइने नेपालीलाई आउनेबित्तिकै घर जान नदिई पहिले परिवारलगायत अन्य मानिसको सम्पर्कभन्दा टाढा अलग्गै सुरक्षित स्थान (क्वारेन्टाइन)मा राख्नुपर्ने हुन्छ।

फर्काइएका नेपालीमा कोरोना भाइरससम्बन्धी लक्षण देखिएमा उपत्यकाका विभिन्न अस्पतालमा बनाएको आइसोलेसन वार्डमा राखेर उपचार गरिने छ। जसका लागि टेकुस्थित शुक्रराज ट्रापिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताल तथा वीर अस्पतालमा ४३ वटा बेड तयार गरिएको छ।