कागती खेतीमा देखिएका समृद्धिका सपना

माघ, २७ पाल्पा । धान, मकै, गहुँलगायत अन्नबाली उत्पादन हुने जग्गामा रामपुर नगरपालिका ७ का कृषक मनोरथ भट्टराईले कागती खेती सुरु गरेका छन् । अन्नबालीको तुलनामा कागतीले राम्रो फाइदा हुने सम्भावना देखेपछि व्यावसायिक तवरले कागती लगाएका हुन् । उनले करिब सात रोपनीमा ४ सय बोट कागती लगाएका छन् ।

बजारमा कागतीको माग बढ्दो र यसबाट राम्रो कमाई गर्न सकिने भएपछि भट्टराईले व्यावसायिक तवरले कागती लगाएका हुन् । चार वर्ष अघिदेखि कागती खेती सुरु गरेका भट्टराईले अब सय बोट थप गरी ५ सय बोट पुर्‍याउने लक्ष्य लिएका छन् । ‘राम्रै धान, मकै, गहुँ फल्ने जग्गा छ, अन्नबाली लगाएर निर्वाहमुखी मात्र भइयो, अब कागती लगाएर आम्दानी गर्ने सोच बनाएको छु’ उनले भने ।

कागतीले धानको तुलनामा तेब्बर बढी आम्दानी दिने भएकाले दीर्घकालीन आयस्रोत लिन कागती लगाउन थालेको उनको भनाइ छ । ‘राम्रो स्याहार संरक्षण गरेपछि एउटा बोटमा दुई हजार कागती उत्पादन लिन सकिन्छ, त्यसमा पनि एक

हजार फले पनि ५ सय बोटबाट वर्षमा कम्तीमा पनि सजिलोसाग १० लाख रुपैयाँ कमाउन सकिन्छ’– उनले भने । उनले वर्षमा ४० मुरी धान उत्पादन हुने खेतभरि अहिले कागती लगाएर हरियाली बनाएका छन् ।
रामपुर नगरपालिका कृषि शाखाले अनुदानमा कागतीका बिरुवा उपलब्ध गराउन थालेपछि कागती खेतीतर्फ कृषकको आकर्षण बढेको कृषि शाखा प्रमुख तथा सूचना अधिकारी रामप्रसाद पाण्डेयले जानकारी दिए ।

आव ०७५/७६ मा स्थानीय जातका ३ हजार ५ सय, सुन कागती एक हजार ५ सय बिरुवा ५० प्रतिशत अनुदानमा वितरण गरिएको पाण्डेयले बताए । उनका अनुसार रामपुर नगरपालिका क्षेत्रमा २४ कृषक कागतीखेतीमा आबद्ध छन् । कागतीभित्र विभिन्न बाली लगाएर पनि मनग्य आम्दानी लिन सकिन्छ । बजारमा कागतीको मूल्य बढ्दो रहेको हुादा अन्नबालीको तुलनामा यसबाट कृषकले राम्रो कमाइ गर्न सक्नेछन् ।