सरकार विरुद्ध तरुण दलको प्रदर्शन

माघ, २६ काठमाडौं । नेपाली कांग्रेसका भ्रातृ संगठनहरूले आज (आइतबार) पनि सरकार विरुद्ध प्रदर्शन गरेका छन् । मातृ पार्टीको निर्देशन बमोजिम कांग्रेसका भ्रातृ संगठनहरूले नेपाल तरुण दलको संयोजनमा सरकारविरुद्ध प्रदर्शन गरेका हुन् ।

उपसभापतिसमेत रहेका पार्टी संसदीय दलका उपनेता विजयकुमार गच्छदारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि कांग्रेस संसद र सडकबाट एकसाथ आन्दोलन गरिरहेको छ ।
गत बुधबार अख्तियारले ललितानिवास जग्गा प्रकरणमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरूलाई उन्मुक्ति दिएर पूर्वाग्रहपूर्ण रूपमा गच्छदारविरुद्ध मुद्दा दायर गरेको दाबी गर्दै कांग्रेस असन्तुष्ट छ ।

कांग्रेसका भ्रातृ संगठनहरूले अख्तियारले विभेद गरेको भन्दै माइतीघर मण्डलदेखि नयाा बानेश्वरसम्म सरकार र अख्तियारविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् । प्रदर्शनपछि आयोजित कोणसभालाई नेपाल महिला संघकी अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य उमा रेग्मी, तरुण दलका अध्यक्ष जितजंग बस्नेत, कोषाध्यक्ष विद्वान् गुरुङ र नेपाल विद्यार्थी संघ (नेविसंघ) का अध्यक्ष राजीव ढुंगानाले सम्बोधन गरेका थिए ।