मुलुकको अस्तित्व रक्षाको लागि राजसंस्था आवश्यक – कमल थापा

माघ २६ काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकको अस्तित्व रक्षाको निमित्त चुनावभन्दा माथि उठेको अभिभावकको रुपमा राजसंस्था आवश्यक भएको बताएका छन्। मुलुकमा राजासहितको लोकतन्त्रले मात्र स्थिरता र समृद्धि दिन सक्ने उनको दाबी छ।

विभिन्न पार्टी परित्याग गरी राप्रपा प्रवेश गर्नेहरुलाई पार्टीमा स्वागत गर्दै थापाले राप्रपा प्रवेश गर्नेहरुले कहिल्यै पश्चाताप गर्नु नपर्ने बताए। उनले देश बचाउने र बनाउने अभियानमा राप्रपाको झण्डा मुनी गोलबन्द हुनु आवश्यक रहेको बताए।

पचासौं लाख युवालाई विदेशी भूमिमा पसिना बेच्न बाध्य बनाउनेहरुले देश निर्माण गर्न नसक्ने ठोकुवा गर्दै थापाले गलत मार्ग्चित्रका कारण मुलुक संकटको भुमरीमा फसेको बताए।

जातिय आधारमा विभाजित गर्ने कामले समस्या जटिल बन्ने तर्फ सचेत हुनुपर्ने भन्दै उनले संस्कार, संस्कृति र परम्परा बिर्सिएर पहिचान गुम्न जाँदा मुलुक कमजोर हुने बताए।