माघ २६, काठमाडौं – अहिले बजार निकै अराजक बनेको छ । कार्टे्लिङ, सिन्डिकेट, कालोबजारी र माफियाका कारण मूल्यवृद्धि हुँदा उपभोक्ता मारमा परेका छन् ।
पछिल्लो २५ दिनमा चामल, खाने तेल, पिठो, आँटा, दाल, लसुन, अण्डा, मासुको मूल्य न्यूनतम दुई रुपैयाँदेखि चार सय ७० रुपैयाँसम्म बढेको छ । फलामे रडमा प्रतिकिलो ८ आठ रुपैयाँ र सिमेन्ट प्रतिबोरा ५० रुपैयाँसम्म मूल्य बढेको छ ।
सरकारले कुन तहमा कति नाफा लिने विषयमा संरचना निर्धारण नगरेका कारण व्यवसायी र उद्योगीले आफूखुसी मूल्यवृद्धि गरेका हुन् ।
‘वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमन गरे पनि सर्वसाधारण उपभोक्ताले भने राहत अनुभव गर्न पाएनन्,’ उपभोक्तावादी प्रेमलाल महर्जनले भने, ‘बजारलाई नियन्त्रण गर्न नसक्ने हो भने विभाग चाहिँदैन ।’ महर्जनले शुक्रबार मात्रै अनुचित व्यापारिक क्रियाकलाप गरी कालोबजारी गर्ने व्यवसायीमाथि कारबाही गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई ज्ञापनपत्र बुझाएका छन् ।
विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले भने, ‘दैनिक उपभोग्य वस्तु र निर्माण सामग्रीको मूल्य अवस्था बुझ्न अनुगमन टोली परिचालन गरेका छौं । टोलीले दिने सुझावका आधारमा कार्टे्लिङ र कालोबजारी गर्ने व्यवसायी र उद्योगीलाई कारबाहीको दायरामा ल्याउँछौं ।’
नेपाल खुद्रा व्यापार संघका अनुसार चामलको भाउ प्रतिबोरा एक सय २५ देखि एक सय ७५ रुपैयाँ बढेको छ ।
संघका अध्यक्ष राजकुमार श्रेष्ठले बोराको एक हजार चार सय ५० मा पाइने २५ किलो सोना मन्सुलीको मूल्य अहिले एक हजार पाँच सय ७५ पुगेको छ । यस्तै एक हजार ६ सय रुपैयाँ पर्ने जिरा मन्सुलीको मूल्य एक हजार सात सय ७५ पुगेको छ ।
संघका अनुसार सबै प्रकारका खाने तेलको मूल्य बढेको छ । एक सय ३५ रुपैयाँ प्रतिलिटरमा पाइने भटमासको तेलको मूल्य एक सय ५० पुगेको छ । यस्तै एक सय ३४ मा आउने सनफ्लावर तेलको मूल्य एक सय ६० पुगेको छ ।
एक सय ५० रुपैयाँमा आउने तोरी तेलको मूल्य एक सय ६० र एक सय ३० पर्ने प्याकेट घिउको मूल्य एक सय ४० मा पुगेको छ । मासको दालमा प्रतिकिलो १५ रुपैयाँ, मुसुरो दालमा ३० रुपैयाँ, रहर दालमा १० र मुङ दालमा २० रुपैयाँ बढाइएको छ ।
लसुन एक किलोको ६ सय रुपैयाँ
माग र आपूर्तिबीच समन्वय नहुँदा लसुनको मूल्य निकै बढेको छ । लसुनका थोक विक्रेता अर्जुन सिलवालका अनुसार चीनमा फैलिएको कोरोना भाइरसका कारण लसुन आयात भएको छैन । त्यसैले पुस पहिलो सातासम्म एक सय ३० प्रतिकिलोमा पाइने लसुन माघ अन्तिम सातासम्म आइपुग्दा ६ सय रुपैयाँ पुगेको छ ।
‘पछिल्लो २० दिनदेखि चीनबाट लसुन आएको छैन,’ सिलवालले भने, ‘व्यापारीले भण्डारण गरिराखेका लसुन झिक्दै मौकाको फाइदा उठाएर चर्को मूल्यमा बिक्री गरेका हुन् ।’ उनका अनुसार चीनबाट आयात हुने लसुनको विकल्पमा भारतको लसुन भए पनि नेपालीले चिनियाँ लसुन मन पराउँदै आएका छन् । भारतीय लसुन प्रतिकिलो तीन सय ५० मा बिक्री भइरहेको उनले जानकारी दिए ।
चल्ला, मासु र अण्डामा कालोबजारी
मासुको मूल्यवृद्धि गर्न विगतमा नेपाल ह्याचरी उद्योग संघले नष्ट गरेको ३० लाख जिउँदो चल्लाको असर अहिले बजारमा परेको छ । मूल्यवृद्धि गर्नैका लागि संघले मंसिर २९ देखि पुस ८ सम्म ३० लाख जिउँदो चल्ला मारेको थियो । नष्ट गरिएका चल्लाको बजार मूल्य १५ करोड थियो । यस्तै ४५ करोड मूल्यको चल्ला निस्कने अण्डा नष्ट गरिएको थियो ।
व्यावसायिक लाभ लिन संघले चल्ला र अण्डा नष्ट गरेको उपभोक्तावादी माधव तिमल्सिना बताउँछन् । मंसिर अन्तिममा दुई सय ५० प्रतिकिलोमा बिक्री भएको कुखुराको मासु चार सयसम्म पु¥याइएको छ । कुखुरा व्यवसायी संघका अध्यक्ष जंगबहादुर बीसीका अनुसार चल्ला र अण्डा नष्ट गरिएकाले खपतअनुसार आपूर्ति नहुँदा मासुको मूल्य बढेको हो ।
अन्नपूर्णबाट