मादल बनाउन छाला र उसिको काठ अभाव

माघ २२, तनहँ – मादल बनाउने कच्चा पदार्थ छाला र उतिसको काठ अभाव हुँदै जान थालेपछि माइला दाईले परिचित ५५ वर्षीय डिलबहादुर सार्कीलाई अहिले पुख्यौली पेशा जोगाउन हम्मे हम्मे भएको छ ।

तनहुँको शुक्लागण्डकी नगरपालिका–४ स्थित ‘माइला मादल पसल’ सञ्चालक ‘माइला दाई’ ले परिचित उहाँ आफ्नो पुख्यौली पेशाको बिँडो जसोतसो थाम्दै आएका छन् ।

एकातिर कच्चा पदार्थको अभाव अर्कोतिर आधुनिक बाजागाजाले मादल बनाउने पेशा लोप हुने अवस्थामा पुगेको उनले बताए । उनले भने मैले बुबा स्व थमनसिंले मादल बनाएको हेरी हेरी मादल बनाउन सिकेर यस पेशालाई अगाल्दै आएको हुँ ।”

शुक्लागण्डकी नगरपालिका क्षेत्रमा उहाँ एक मात्र मादल व्यवसायी छन् । ग्राहकको चाहाना अनुरुप मादल, सारङ्गी, ड्रमसेट, खैजडी, झ्याली मुजुरालगायत नौमती पञ्चेबाजाका सबै सामग्री उपलब्ध गराउँदै आएको छु । उनले भने “नौमती पञ्चेबाजका नर्सिया र सन्नाई अन्य स्थानबाट ल्याएर भए पनि यहीबाट उपलब्ध गराउँदै आएको छु ।”

बाद्यबाजनको छाला र उतिसको काठ आवश्यक पर्ने हुँदा पर्याप्त मात्रामा पाउन नसकिएको उनले् बताए । गत वर्ष डेढ÷दुई लाखको मादललगायत सामग्री बिक्री गरेको भए पनि यस वर्ष मुश्किलले डेढ लाख बराबरको सामग्री बिक्री भएको उनले जानकारी दिए ।

उनले स्याङ्जाको चिन्नेबासबाट विसं २०६५ मा दुलेगौडामा बसाईसराई गरी आउनुभएको थियो । उहाँले पञ्चमुनिदेव, खैरेनी तथा अरनिको माध्यमिकलगायत करीब एक दर्जन सामुदायिक तथा निजी विद्यालयमा मादल तथा आर्थिक सहयोग गर्दै आएका छन् ।