भारतीय नक्साप्रति आपत्ति जनाउँदै सुदूरपश्चिम प्रदेशसभामा संकल्प प्रस्ताव दर्ता

माघ २२, काठमाडौं – नेपाली भूमि भारतले आफनो नक्सामा राखेकोप्रति आपत्ति जनाउँदै नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले संकल्प प्रस्ताव दर्ता गराएको छ ।

कांग्रेसका प्रदेशसभा सदस्य कर्णबहादुर मल्लले मंगलबार प्रदेशसभामा सो संकल्प प्रस्ताव दर्ता गराएका हुन्। प्रदेशसभा सचिवालयमा दर्ता गराइएको संकल्प प्रस्तावमा कांग्रेसले भनेको छ, ‘सुगौली सन्धिमै कालापानी पश्चिम भारतीय भूभाग स्पष्ट उल्लेख भएता पनि अहिले आएर त्यस यताको नेपाली भूभागलाई आफनो नक्सामा राख्ने भारतीय कदम आपत्तिजनक छ।’

भारत सरकारले केही महिनाअघि नेपालको सुदूरपश्चिममा पर्ने लिम्पियाधुरा, कालापानी क्षेत्रलाई भारतीय नक्सामा समावेश गरी नक्सा सार्वजनिक गरेको थियो।

सो नक्सा सार्वजनिक भएपछि संघ, प्रदेशमा विरोधका आवाज उठे पनि भारतले अहिलेसम्म नक्साबाट नेपाली भूमि भने हटाएको छैन। प्रदेशसभा सदस्य मल्लद्वारा दर्ता गरिएको प्रस्तावमा ‘प्रदेशसभाले उक्त मिचिएको भूमि अविलम्ब फिर्ता गराउन र राष्ट्रिय अखण्डतालाई जोगाउन संकल्प प्रस्ताव पारित गरी नक्साबाट हटाउन पहल गर्न’ माग गरिएको छ।

प्रदेशसभा सदस्य मल्लले दर्ता गराएको प्रस्तावको प्रस्तावकमा प्रदेशसभा सदस्य भरतबहादुर खडका र टेकबहादुर रोकाको समर्थन रहेको छ ।