काठमाडौंमा हुने भयो घरजग्गा मेला

काठमाडौं २१ माघ । आगामी बैशाख ४ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा ‘आठौँ  घरजग्गा मेला’ हुने भएको छ । ७ गतेसम्म चल्ने उक्त मेला नेपाल जग्गा तथा आवास विकास संघले आयोजना गर्ने भएको हो ।

मेलामा आवास तथा जग्गा विकास तथा शहरीकरणमा योगदान पुर्‍याएका व्यवसायी र उपभोक्तालाई एकै थलोमा भेला गराई आफ्नो उत्पादनको यथार्थ तथा वास्तविक स्थिति जानकारी गराउने वातावरण बन्ने आयोजकले जनाएको छ ।

मेलामा भवन तथा संयुक्त आवास र जग्गा योजना तथा विकासमा आवद्ध व्यवसायीहरु, निर्माण सामग्रीका उत्पादक तथा विक्रेता, ईन्जिनियरिङ तथा आर्किटेक्चर कन्सल्ट्यान्ट लगायतका स्वदेशी तथा विदेशी प्रदर्शकका साथै बैंक र बीमा कम्पनीहरुको समेत सहभागिता रहने संघले जनाएको छ ।

घरजग्गा व्यवसायको वर्तमान अवस्था तथा यसका चुनौति र समस्या समाधानका उपायसहितका सहभागीलाई जानकारी गराउन मेला सफल हुने आयोजकको दावी छ। एक लाख भन्दा बढीले मेलाको अवलोकन गर्ने संघको अनुमान छ ।