माघ २०, काठमाडौं – कोटेश्वर–जडीबुटी सडक खण्डमा दैनिक हुने जामको अन्त्य गर्न सरकारले विकल्प खोजी गरेको छ । यस सडक खण्डको दायाँ(बायाँ दुबैतर्फ विस्तारको तयारी गरी जाम हटाउन लागिएको हो ।
जामको दीर्घकालीन समाधान गर्न सरकारले ‘अण्डरपास’ वा ‘फ्लाइओभर’ निर्माणमा जापान अन्तर्रा्ष्ट्रिय सहयोग नियोग (जाइका ) लाई अनुरोध गरिरहँदा तत्काल समाधानसमेत खोजिएको हो ।
मुख्य जाम हुने क्षेत्र लक्षित गर्दै त्यस खण्डमा तीनदेखि चार लेन थप्न सडकको चौडाइ विस्तार गर्न लागिएको हो । हाल यस सडक खण्डको उत्तरतर्फ एक लेन थपिने र दक्षिणतर्फ दुई तीन लेनसम्म थप्ने गरी योजना बनाइएको सडक विभागका प्रवक्ता शिवहरि सापकोटाले जानकारी दिएका छन् ।
उत्तरतर्फ एक लेनसम्म थप्न सडककै जग्गा रहेको छ । हाल पैदलयात्रु मार्ग र ढल रहेका स्थानलाई सारेर लेन तयार गर्न सकिन्छ । दक्षिणतर्फ चौडाइ बढाउन पर्यटन मन्त्रालयसँग छलफल भइरहेको छ । उनले भने ‘मन्त्रालयसँगको समन्वयमा नागरिक उड्डयन प्राधिकरणको जग्गामा दुई तीन लेन थप्न सकिनेछ।’
उत्तरतर्फको थप हुने भनिएको लेनमा हाल भौतिक संरचनाका रुपमा एउटा मात्रै घर रहेको प्रवक्ता सापकोटाले जानकारी दिएका छन् । उक्त घर तीनकुने– सूर्य्विनायक सडक विस्तारका क्रममा समेत भत्काउन सकिएको थिएन । मन्त्रिपरिषद् बैठकले उक्त घर भत्काउने निर्णय गरिसकेको जनाइएको छ ।
त्यस्तै, कोटेश्वर चोकबाट तीनकुनेतर्फ जाने सवारीसाधनसँगै दैनिक बालकुमारीतर्फ जाने सवारीसाधनसमेत रोकिने गर्छन् । उत्तरतर्फ विस्तार हुने एक लेनले पेप्सीकोलातर्फ र कोटेश्वरबाट बालकुमारीतर्फ जाने गाडी निर्वाधरुपमा जान सक्ने प्रवक्ता सापकोटाले जानकारी दिए ।
आगामी वैशाख जेठ महिनामा ट्र्याक खोलेर सकेसम्म चाँडो सडक सञ्चालनमा ल्याउने विभागले जनाएको छ ।
जाइकाले यसअघि नै कोटेश्वर–जडीबुटी सडकमा पूर्वसम्भाव्यता अध्ययनसमेत गरिसकेको छ । विस्तार तत्काल समाधान मात्रै हुने जनाइएको छ । प्रवक्ता सापकोटाले भन्नुभयो, ‘यहाँको दीर्घकालीन समाधान भनेको ‘अण्डरपास’ हो ।’