माघ १८,काठमाडौं । छोरी मान्छेले किन पढ्नुप¥यो ?” कतिपय अभिभावकले अझै पनि यस्तो प्रश्न गर्न छाडेका छैनन् तर अभिभावकलाई चित्तबुझ्दो जवाफ दिन अब छोरी सक्षम भइसकेका छन् । बालिका शिक्षाको अवस्था कमजोर मानिएको कपिलवस्तु जिल्लाको दक्षिणी भेगमा छोराछोरीलाई विद्यालय पठाएबापत विपन्न र गरिब अभिभावकलाई आयआर्जन र रोजगारीका लागि सहयोग हुन थालेपछि शिक्षामा सुधार आउन थालेको छ । कपिलवस्तु जिल्ला मानव विकास सूचकाङ्कमा पछाडि रहेकोमध्ये एक जिल्ला हो ।
साना बहिनीको शिक्षामा सघाउन स्थानीय सरकारको समन्वयमा सामाजिक अभियानकर्मी र ठूला दिदीे समूहले बनाएर काम गरेपछि अभिभावकको मनस्थिति बदलिएको देखिन्छ । विद्यालय तहका माथिल्लो कक्षामा अध्ययनरत दिदीहरुले तल्लो तहका बहिनीलाई शिक्षा र सामाजिक क्षेत्रमा सहयोग गर्ने क्रममा निर्मित शुद्धोधन गाउँपालिकाको मुडफुटुवास्थित नेपाल राष्ट्रिय माविका ममता पाण्डे, सृष्टिकुमारी पाण्डे र जाता कुर्मी आफ्नो प्रयासबाट बहिनीको शिक्षामा आएको सुधारबाट सन्तुष्ट छन् ।
पहिला पढाइमा कमजोर भएका बहिनी पहिलापहिला बोल्न पनि डराउँथे । अहिले पढाइमा राम्रो नतिजा आउन थालेको छ । दिदीहरुका समूह बहिनीको घरमा नियमित जाने र अभिभावकलाई भेट्दै विद्यालय नपठाउने अभिभावकलाई परामर्श दिने गरेपछि बहिनी विद्यालयमा नियमित जान थालेका छन् ।
युरोपोली आयोगको सहयोगमा वी वल्र्ड, ग्लोबल एक्सन नेपाल (ज्ञान) र सिद्धार्थ सामाजिक केन्द्रको सहकार्यमा सन् २०१२ देखि ‘कपिलवस्तुमा समता र पहुँचका लागि साझेदारी कार्यक्रम’ (पिक) ले जिल्लको दुई गाउँपालिकामा परियोजना सञ्चालन गरेपछि विद्यालय बाहिर रहेका बालबालिकाको विद्यालय भर्नादर उल्लेखनीय वृद्धि भएको छ । भर्ना भएका विद्यार्थी नियमित विद्यालय जान थालेका छन् र पढाइमा सुधार ल्याई सरसफाइमा ध्यान दिन थालेका छन् । यस अभियानमा बहिनीको आत्मविश्वास बढाउने र अभिभावकको आयआर्जनका तालिमका कार्यक्रम पनि चलाइएको छ ।
सो भेगका १२० अभिभावकले पशुपालन र व्यवसाय खोल्नका लागि आर्थिक र सामग्री सहयोग पाएपछि उनीहरुले बालबालिकालाई सहजै विद्यालय पठाउन थालेको पाइएको छ । एकीकृत समता रणनीतिअन्तर्गत शिक्षाको पहुँच हुन नसकेका सीमान्तकृत सिकाइ समूहको पहिचान गर्ने, सवलीकरण समतामार्फत बालबालिकालाई विद्यालयमा टिकाउने र सिकाइ उपलब्धि वृद्धि गर्ने लक्ष्यका साथ जिल्लाको मायादेवी र शुद्धोधन गाउँपालिकाका २४ सामुदायिक विद्यालयमा सो कार्यक्रम सञ्चालन गरिएको थियो । ती विद्यालयका १६७ शिक्षक र २१ बालविकास केन्द्रका सहजकर्ताका लागि बालमैत्री शिक्षण सिकाइ, कक्षाकोठा व्यवस्थापन, सामग्री निर्माण र प्रयोगसम्बन्धी तालीम पनि दिएको छ ।
कार्यक्रमले स्वास्थ्य तथा पोषण, वकालत, बालमैत्री सिकाइको वातावरण, वैकल्पिक शिक्षा कार्यक्रम, सकात्मक नीतिगत तथा कानूनी कार्य, समन्वय, सहकार्य र सञ्जालीकरणका क्षेत्रमा समेत सहयोग गरेको थियो । दुई पालिकामा करिब ६ हजार बालबालिका परियोजनाबाट लाभान्वित भएको र कूल ४५५ दिदीहरु र अन्य समुदायका व्यक्ति परिचालित भएको वी वल्र्डका राष्ट्रिय निर्देशक तिलक भट्टराईले जानकारी दिए ।
उनले ती पालिकामा हाल कोही पनि बालबालिका विद्यालय बाहिर नरहेको र सिकाइ उलपब्धि ३७ दशमलव ५० बाट वृद्धि भएर ४१ पुगेको बताउनुभयो । सो अवधिमा विद्यालय बाहिर रहेका एक हजार ५०० बालबालिका विद्यालय भर्नामा आएका छन् भने दुई पालिकामा अपाङ््गता भएका १३ जना बालबालिका विद्यालय बाहिर छन् ।
शिक्षा क्षेत्रका केन्द्रीय सरोकारवालासँग परियोजनाको सफलता जानकारी दिन आज आयोजित कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं कपिलवस्तु क्षेत्र नं १ सङ्घीय सांसद चक्रपाणि खनाल ‘बलदेव’ले जिल्लामा शिक्षाको अवस्था सुधारोन्मुख भए पनि गतिशील हुन नसकेको बताउँदै सरकारी र गैरसरकारी क्षेत्रको सहयोगमा शिक्षामा रुपान्तरण ल्याउन आवश्यक भएको बताए ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव ढुण्डीराज अर्यालले कपिलवस्तुको यस नमूना सिकाइलाई नीतिगतरुपमा कसरी विस्तर गर्न भन्नेबारेमा समीक्षा गरिने जनाए । मायादेवी गाउँपालिकाका अध्यक्ष बजरङ्गीप्रसाद कुर्मीले भारतीय सीमा नजिक रहेको दक्षिणी भेगमा शिक्षाको सुधार हुन थाले पनि शिक्षक दरबन्दी पाउन मुस्किल हुँदा गुणस्तरीय शिक्षा चुनौतीपूर्ण रहेको गुनासो गरे ।
शिक्षाविद् डा मनप्रसाद वाग्लेले सुधार भइसकेको अवस्थाबाट तल नझार्न सुझाव दिँदै अर्थपूर्ण सिकाइका लागि शिक्षकले निरन्तर मेहनत गर्नुपर्ने बताए । ज्ञानका निर्देशक विके श्रेष्ठका अनुसार आफूहरुले ‘सबैका लागि शिक्षा’ को अपूरो काममध्ये शिक्षामा बालबालिकाको पहुँच र गुणस्तर वृद्धिका लागि लमजुङ, सुर्खेत र पर्सा पनि यस्ता कार्यक्रम सञ्चालन भइरहेको छ ।
रासस