माघ १५, काठमाडौं – बागलुङ गलकोट नगरपालिका–३ हटिया बजारमा रहेको गलकोट घुम्टे कपास उद्योगमा मङ्गलबार आगलागी भएको छ।
आगलागी हुँदा कपास उद्योग पूर्णरूपमा क्षति भएको छ। विद्युत् चुहिएर आगलागी भएको कपास उद्योगमा रु २० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट उद्योगभित्र पार्किङ गरेर राखिएको ध१प १३२५ नम्बरको मोटरसाइकलमा समेत सामान्य क्षति पुगेको छ।
आगलागीबाट उद्योगको कपडा पेल्ने मेशिन तथा कच्चा पदार्थमा क्षति पुगेको प्रहरी चौकी हटियाका प्रमुख प्रहरी नायब निरीक्षक अनुप केसी क्षेत्रीले जानकारी दिए ।
आगलागी स्थानीय तथा प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको थियो। कपास उद्योग गलकोट नगरपालिका–६ का शिव आचार्यले सञ्चालन गरेका थिए । रासस