सुर्खेत, ९ माघ । नवजात शिशु तथा मातृ मृत्युदर घटाउन स्वास्थ्यकर्मीलाई विशेष तालिम ‘मास्टर प्रशिक्षक कोर्ष’ दिइएको छ । कर्णाली प्रदेशका विभिन्न जिल्लामा कार्यरत ८० स्वास्थ्यकर्मीले चारदिने तालिम पूरा गरेका हुन ।
बच्चालाई निस्सासिँदो अवस्था तथा सुत्केरी अवस्थामा आमाको अत्यधिक रक्तश्रावले हुने मृत्युबाट जोगाउने ध्येयले राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र, सफा सुनौलो नेपाल र ल्याटर–डे–च्यारिटिजको संयुक्त तत्वाधानमा यहाा तालिम सञ्चालन गरिएको थियो ।
कर्णालीका १० जिल्लासहित दाङ, बाँके र बर्दियामा कार्यरत नर्स तथा अनमीले सो तालिम प्राप्त लिएको सफा सुनौलो नेपालका सचिव राकेश हमालले जानकारी दिए । सहभागीलाई सुत्केरी अवस्थामा आमा र बच्चाको स्वास्थ्य कसरी सुरक्षित गर्ने भन्ने सैद्धान्तिक तथा व्यवहारिक ज्ञान प्रदान गरिएको थियो ।
कर्णाली प्रदेशसभा अर्थ तथा प्राकृतिक स्रोत समितिका अध्यक्ष अमरबहादुर थापाले बच्चा र आमाको जीवन बचाउन तालिम लिएका स्वास्थ्यकर्मी प्रमुख आधार हुने बताए ।
उनले भने, ‘आमा र बच्चाको स्वास्थ्य अवस्थामा सुधार ल्याउन चिकित्सक एवं स्वास्थ्यकर्मीको महत्वपूर्ण भूमिका रहेको छ । यद्यपि रुढीवादी सोचमा परिवर्तन हुन नसकेसम्म यहाँका आमा र शिशुको मृत्युदर कमी ल्याउन अझ बढी चुनौती देखिन्छ ।’
प्रदेशसभा सदस्य पद्मा खड्काले भौगोलिक विकटताका कारण पनि कर्णालीको स्वास्थ्य अवस्था सुधार ल्याउन समस्या भएको बताए ।
प्रमुख प्रशिक्षक डा.माइकलले ‘मास्टर तालिम कोर्ष’ कर्णालीका लागि कोशेढुंगा सावित हुने र तालिम लिएका स्वास्थ्यकर्मीबाट आमा तथा नवजात शिशु मृत्युदरमा कमी हुने विश्वास व्यक्त गरे ।
ल्याटर–डे–च्यारिटिजका कन्ट्री डाइरेक्टर भोन्डेन वर्गले प्रशिक्षक कोर्ष प्राप्त गर्ने सबै स्वास्थ्यकर्मीलाई इमान्दार एवं लगनशील भएर काम गर्नुका साथै प्रशिक्षक कोर्षबाट सिकेका कुरा अरुलाई सिकाउनसमेत आग्रह गरे ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत नर्स सिर्जना कार्कीले ‘मास्टर प्रशिक्षक कोर्ष’ चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि उचित मार्ग्निर्देशन हुने बताए ।
कर्णालीको स्वास्थ अवस्थामा अपेक्षित सुधार नआउादा विगत तीन वर्षमा यहााका १९५ महिला तथा गतवर्ष १४३ नवजात शिशुको मृत्यु भएको थियो । राष्ट्रिय औसतमा प्रतिएकहजार जीवित जन्ममा नवजात शिशु मृत्युदर २१ हुादा कर्णालीमा २९ रहेको छ । रासस