माघ ५, काठमाडौं – अमरगढी नगरपालिका–६ को भालुमारेमा आज बिहान आएको पहिरोसँगै रुख ढलेपछि दशरथचन्द राजमार्ग अवरुद्ध भएको छ ।
अवरुद्ध राजमार्ग खुलाउन नगरपालिकाको स्काभेटर भालुमारेतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले बताएका छन् ।
उनका अनुसार मोटरसाइकल, जिप, कारलगायतका साना सवारी साधन चलिरहे पनि बस र ट्रकलगायतका ठूला सवारीसाधन रोकिएका छन् ।
लगातारको वर्षा र हिमपातपछिको पहिराले तीन जिल्ला बैतडी, बझाङ र दार्चुलादेखि आउने तथा जाने सवारी सञ्चालनमा समस्या भएको प्रहरीले जनाएको छ