माघ ३, काठमाडौं – शताब्दी पुरुष सत्यमोहन जोशीले अग्ला घरका कारण हिमाल छेकिन पुगेको गुनासो गरेका छन् ।
जोशीले विसं १९९० को भूकम्प पश्चात उपत्यकाबासी काठमाडौंको टुँडिखेलमा गएर रात बसेको स्मरण गर्दै यस्तो गुनासो गरेका हुन्। उनले भने, ’त्यस बेला टुँडिखेल एसियाको सबैभन्दा ठूलो ठाउँ थियो। हाल टुँडिखेल सानो बन्दै गएको हुँदा त्यसको संरक्षणमा सरकारले ध्यान दिनुपर्ने देखिन्छ।’
राष्ट्रिय भूकम्प सुरक्षा दिवस–२०७६ का अवसरमा ललितपुर महानगरपालिकाद्वारा बिहीबार आयोजित कार्यक्रममा शताब्दी पुरुष जोशीले विगतमा टुँडिखेलबाट हिमाल र पहाड छर्लङ देखिने स्मरण गरे।
कार्यक्रममा ललितपुर महानगरपालिकाका उपप्रमुख गीता सत्यालले पाटनमा सम्भाव्य जोखिम न्यूनीकरणका गर्न भवन निर्माण आचारसंहितालाई अनिवार्य लागू गर्नुपर्ने बताइन्। ललितपुरका प्रजिअ भगीरथ पाण्डेले भविष्यमा दोहोरिने सङ्कटको विचार गरी निजी घर बनाउन आग्रह गरे।