माघ १, काठमाडौं – सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले सभामुख नेकपाको पक्षमा राख्नका लागि उपसभामुखले राजीनामा दिनुपर्ने बताएका छन् ।
मंगलबार बेँसीशहरमा प्रेस सङ्गठन जिल्ला कार्यसमिति लमजुङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।
उनले भने, “संविधानले एउटै पार्टीका सभामुख र उपसभामुख हुन नपाउने व्यवस्था गरेको छ । हाम्रो पार्टी संसद्को सबैभन्दा ठूलो पार्टी भएकाले रिक्त पदमा आफ्नो दाबी गर्नु र सभामुख पद हासिल गर्नु स्वाभाविक हो । त्यसको लागि वर्तमान उपसभामुखले राजीनामा दिएर बाटो खोलिदिनु पर्ने अवस्था छ ।”
संविधानको मर्म अनुसार उपसभामुख हाम्रो पार्टीको हुँदासम्म सभामुख हाम्रो पार्टीको हुन नसक्ने भएकाले उपसभामुखलाई राजीनामा दिन अनुरोध गरेको उनले बताए । उनले भने, “ उनले राजीनामा नदिँदासम्म सभामुख हाम्रो पार्टीले पाउने सम्भावनाको अन्त्य हुन्छ ।’’
रासस