माघ १, काठमाडौं – भारतले परराष्ट्र मामिलामा तीन दशकभन्दा लामो अनुभव संगालेका विनय मोहन क्वात्रालाई नेपालका लागि नयाँ राजदूत बनाउने भएको छ ।
सन् २०१७ को मे देखि फ्रान्सका लागि भारतीय राजदूतको रूपमा कार्यरत क्वात्राले चाँडै नै नेपाल आएर राजदूतको जिम्मेवारी सम्हाल्ने छन् ।
नेपालमा अमेरिका र चीनको बढ्दो चासोलाई मध्यनजर गर्दै भारतले ती दुवै देशको कुटनीतिक मामलामा विज्ञ मानिने क्वात्रालाई नेपालका लागि राजदूत छनौट गरेको हो ।
सन् १९८८ देखि विदेश मामला सम्बन्धी कार्य शुरु गरेका उनीसँग नेपालमा बसेर काम गरेको अनुभव पनि छ ।
सन् २००६ देखि २०१० सम्म नेपालस्थित सार्क सचिवालयमा भारतको प्रतिनिधित्व गर्दै उनले ब्यापार, अर्थतन्त्र र वित्तिय विभाग (ट्रेड, ईकोनोमी एण्ड फाईनान्स् ब्युरो) प्रमुखको रुपमा काम गरेका थिए ।
नेपालका लागि सम्भावित राजदूतको रुपमा चर्चामा रहेका टी एस त्रिमूर्ति, गोपाल वाग्ले, जावेद अशरफ, अखिलेश मिश्रा, विकास स्वरुप लगायतलाई उछिन्दै क्वात्रा नयाँ राजदूत नियुक्त भएका हुन् ।