पुस २७, काठमाडौं – प्रदेश नं. ३ को स्थायी राजधानी हेटौंडा नै कायम हुने भएको छ । आइतबार बिहान ९ बजेबाट सुरु भएकोको मतदानमा हेटौंडाको पक्षमा १०५ मत र विपक्षमा ३ मत परेको थियो । नेकपासहित मुख्य दलले राजधानी हेटौंडाको पक्षमा मतदान गरेका थिए ।
प्रदेश नं. ३ को स्थायी राजधानी काभ्रे कायम गरियोस् भन्ने प्रस्तावमा ३ मत मात्र परेको छ । काभ्रेको पक्षमा विवेकशील साझा पार्टीको ३ मत मात्र परेको थियो । प्रदेश सभामा ११० सांसद रहेका छन् । नेकपाका ८०, कांग्रेसका २२, विवेकशील साझाका ३, नेमकिपाका २, राप्रपाका १, राप्रपा संयुक्तका १ र १ स्वतन्त्र मत छ ।
यस्तै प्रदेश नं. ३ को नाम बागमती घोषणा भएको छ । आइतबार प्रदेशसभामा भएको मतदानमा बागमती प्रदेशको पक्षमा १ सय ८ मत परेपछि सभामुख सानुकुमार श्रेष्ठले प्रदेश ३ को नाम बागमती पारित भएको घोषणा गरेका थिए ।
प्रदेशको स्थायी राजधानीका लागि शनिबार २ वटा नाम प्रदेशसभामा दर्ता भएका थिए । दुई वर्षदेखि प्रदेशको राजधानी र नाम टुंगो लाग्न सकेको थिएन। आजदेखि प्रदेश नं. ३ को नाम बागमति र स्थायी राजधानी हेटौंडा कायम भएको छ ।