प्रदेश ३ को नाम र राजधानी तोक्न आज मतदान हुँदै

पुस २७, काठमाडौं – प्रदेश ३ को नाम र स्थायी राजधानी टुंगो लगाउन आज प्रदेश ३ को प्रदेशसभामा मतदान हुने भएको छ। बिहान ९ बजेदेखि मतदान प्रक्रिया सुरु गर्ने प्रदेशसभाको कार्यसूची रेहेको छ।

१३ पुसमा बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकले प्रदेश ३ को नाम वाग्मती र राजधानी हेटौंडा राख्न निर्देशन दिएको थियो। नेकपाकै कतिपय प्रदेश सांसदहरुले यो निर्देशन संघीयताको मर्म र संविधानको भावनाविपरीत भएको भन्दै मतदानको क्रममा त्यसलाई नमान्ने बताएका थिए।

विवादकाबीच शुक्रबार बसेको नेकपा प्रदेश ३ को संसदीय दलको बैठकले प्रदेश ३ को नाम र राजधानीबारेको केन्द्रको निर्देशनलाई अनुमोदन गरेको थियो। प्रदेशसभा बैठक सुरु हुनु अगावै मुख्यमन्त्री एवं नेकपा प्रदेश ३ का संसदीय दलका नेता डोरमणि पौडेलले केन्द्रकै निर्णय अनुमोदन गर्ने गरी निर्णय गराएका हुन्।

प्रदेशको स्थायी राजधानीका लागि २ वटा नाम प्रदेशसभामा दर्ता भएका छन्। हेटौंडा स्थायी राजधानी राख्न नेकपा प्रदेश ३ संसदीय दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेल प्रस्तावक थिए भने कांग्रेस नेता बानियाँ, राप्रपाकी माझी र राप्रपा संयुक्तकी गुरुङले त्यसलाई समर्थन गरेका थिए।

स्थायी राजधानीबारे भने विवेकशील पार्टीको फरक मत छ। विवेकशीलका रमेश पौडेलले काभ्रेको धुलिखेल राजधानी बनाइयोस् भन्दै प्रस्ताव दर्ता गरेका छन्। त्यसलाई शोभा शाक्य र विराजभक्त श्रेष्ठले समर्थन गरेका छन्।