आज देशभर वर्षा र हिमपातको सम्भावना

पुस २३, काठमाडौं – वर्षा र हिमपातपछि आइतबारदेखि सुधार हुँदै आएको मौसम मङ्गलबार बेलुकाबाट फेरि प्रभावित भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पश्चिमी वायुका प्रभाव आगामी शनिबारसम्म कायम रहने बताइएको छ । आज राति देशको पश्चिमी भूभागका साथै मध्य र पूर्वका पहाडी भूभागमा सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात हुनाका साथै मध्य र पूर्वी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

भोलि देशभर सामान्य बदली रही पश्चिमका केही स्थानमा र मध्य तथा पूर्वका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रही देशको उच्च पहाडी र हिमाली भूभागका केही स्थानमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको जनाएको छ।

देशभर आंशिकदेखि सामान्य बदली रही देशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको पनि मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।