अष्ट्रेलियामा नेपाल भ्रमण वर्षको शुभारम्भ

पुस २२, काठमाडौं  – संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमणका लागि अष्ट्रेलियावासी र यहाँ रहेका नेपालीलाई निमन्त्रणा गरेका छन् ।

भ्रमण वर्ष सन् २०२० को अन्तरराष्ट्रिय रुपमा आज यहाँ औपचारिक शुभारम्भ गर्दै  भट्टराईले  जीवनको नयाँ अनुभवका लागि नेपालको भ्रमण गर्न सबैमा अनुरोध गरेका छन् ।

नेपालमा विशेष तयारीका साथ यस वर्षलाई भ्रमण वर्षका रुपमा मनाउन लागिएको जानकारी दिँदै  उनले  नेपालको पर्यटकीय महत्वका बारेमा जानकारी दिए ।

काठमाडौँ र अष्ट्रेलियाबीच सिधा उडानका लागि सम्झौता पछि कार्यान्वयनका लागि पहल भइरहेको भन्दै उहाँले दुई देशका बीचमा लामो समयदेखि कूटनीतिक सम्बन्ध रहेको बताए ।

सो अवसरमा न्यू साउथ वेयल्स राज्य संसद्का सभामुख जोनाथन वडीले नेपाल सुन्दर रहेको भन्दै भ्रमणका लागि धेरैभन्दा धेरै अष्ट्रेलियावासी जाने विश्वास व्यक्त गरेका छन् । कार्यक्रममा अष्ट्रेलियका लागि नेपाली राजदूत महेशराज दाहालले भ्रमण वर्षलाई सफल बनाउन  रहेका सम्पूर्ण नेपालीहरुमा अनुरोध गरे ।

सो अवसरमा अष्ट्रेलियाका पक्ष र प्रतिपक्ष दल एवं काउन्सिलका प्रतिनिधिसहितको उपस्थिति रहेको थियो । कार्यक्रम शुरु हुनुअघि सिड्नीको सर्कुलर क्येवमा मौन जुलुसमार्फत पर्यटन वर्षको प्रवद्र्धन पनि गरिएको थियो ।

अहिले सिड्नीमा नै यहाँका राजनीतिक दल, कूटनीतिज्ञ, पर्यटन व्यवसायी, व्यवसायी, गैरआवासीय नेपाली महासङ्घका विभिन्न तह र तप्कामा रहेका व्यक्तिको उपस्थितिमा भ्रमण वर्षका सम्बन्धमा छलफल एवं रात्रिभोज शुरु भएको छ ।

गत वर्ष अष्ट्रेलियाबाट ३३ हजार पर्यटकले नेपाल भ्रमण गरेको तथ्याङ्क रहेको छ । यो सङ्ख्यालाई दोब्बरभन्दा बढी बनाउन राजदूतावास लागि परेको छ । गैर आवासीय नेपाली महासङ्घ र न्यू साउथ वेयल्सको महावाणिज्य दूतावासको सहयोगमा अष्ट्रेलियाका लागि नेपाली राजदूतावासले कार्यक्रमको आयोजना गरेको हो ।