नारायणगढ–बुटवल सडक विस्तार तीव्रता पाउदैं

पुस २२, काठमाडौं – पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडकखण्ड विस्तारको कामले तीव्रता पाएको छ । सडक विस्तारले तीव्रता पाएसँगै सडक फराकिलो बनाउन आवश्यक पर्ने माटो गैँडाकोट नगरपालिका–१४ को भागबाट पहाड खनेर लैजान शुरु गरिएको छ ।

सडक विस्तारका लागि यहाँका १० व्यक्तिको नाममा रहेको ७५ रोपनी जग्गाबाट बाटो विस्तारका लागि आवश्यक माटो लैजान शुरु गरिएको वडाध्यक्ष कोपीसरा रानामगरले बताए । शनिबारदेखि माटो निकालेर लैजान शुरु गरिएको उल्लेख गर्दै उहाँले त्यहाँको माटो सडक विस्तारभन्दा अन्य काममा प्रयोग गर्न नपाउने गरी सहमति भएको जानकारी दिनुभयो । भागरको पहाड नै काटेर सडक विस्तारका लागि माटो लैजान शुरु गरिएको बताएका छन् ।

रुख बिरुवा नभएको पहाडको ढिस्को खनेर बाटो विस्तारमा प्रयोग गर्दै खेतीयोग्य जमिन बनाउने उद्देश्यले माटो बिक्री गरेको स्थानीय चन्द्रमान गन्द्रमाले बताउनुभयो । उहाँका अनुसार प्रतिटिपर रु ५२५ मा माटो बिक्री गरिएको हो । पहाडमा कुनै पनि खेतीबाली नहुने तर सरकारलाई राजश्व मात्रै बुझाउनु परेकाले माटो बिक्री गरेर खेतीयोग्य जमिन बनाउन लागिएको उनले बताए ।

सडक विस्तारका लागि ठेक्का पाएको चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनीयरिङ कर्पोरेशनलाई निर्माण सामग्री उपलब्ध गराउने जिम्मा पाएको सुपा निर्माण कम्पनी प्रालिले पहाड काटेर माटो लैजान शुरु गरेको हो । माटो लगेबापत नगरपालिकालाई प्रतिघनमिटर रु १५ का दरले कर दिन सहमत भएपछि माटो लैजान दिइएको नगरप्रमुख छत्रराज पौडेलले बताए ।

सो स्थानको माटो नारायणगढ–बुटवल सडकखण्ड विस्तारका लागि खण्ड १ मा प्रयोग हुने नगरपालिकाले सहमति गरेको थियो । कावासोती नगरपालिकाअन्तर्गत पर्ने जङ्गल क्षेत्रबाट नारायणगढ–बुटवल सडकखण्ड चार लेनको हुने गरी सडक विस्तारको काम भइरहेको छ ।

रासस