पुस १६, काठमाडौं – माइती नेपाल मोरङले सन् २०१९ को अवधिमा ९५ बालिका तथा महिलालाई भारतीय सीमाक्षेत्रबाट बेचबिखन हुनबाट जोगाएको छ ।
‘हामो आवाज चेलीबेटी बेचबिखनबाट मुक्त’ नारासहित मोरङ शाखाले ती बालबालिकालाई विराटनगरको सीमावर्ती क्षेत्र रानी तथा भारतीय बजारको रेल स्टेशन र बसपार्कबाट उद्धार गरेको मङ्गलबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ ।
अठार वर्षमुनिका २१ र माथिका ७४ जनालाई नेपाल प्रहरी, सशस्त्र प्रहरी, भारतीय रेल्वे प्रहरी, भारतीय प्रहरी र माइती नेपालका कर्मचारीको सहयोगमा उद्धार गरिएको माइती नेपालका मोरङ संयोजक विनोद पोखरेलले जानकारी दिए ।
यस क्षेत्रबाट उद्धार गरिएकामध्ये भारतसहित नेपालका १८ जिल्लाका बालिका र महिला रहेका छन् ।
यसरी उद्धार गरिएकामध्ये मोरङ, सुनसरी, झापा, उदयपुर, खोटाङ र धनकुटाका अधिकांश महिला रहेको पोखरेलले बताएका छन् । स्तै सो अवधिमा घरेलु हिंसाबाट पीडित १६, करणी भएका तीन, दुईलाई अदालतमा मुद्दा दर्ता, हराएका छ महिला फेला पार्नुका साथै ९५ जनालाई पुनःस्थापना केन्द्रमा राखिएको थियो ।
उद्धार गरिएका महिलालाई विराटनगरस्थित केन्द्रमा राखी घरपरिवारलाई जिम्मा लगाउने अथवा घर नजाने महिलालाई सुनसरीको इटहरीमा रहेको पुनःस्थापना केन्द्रमा आयआर्जनका लागि सीपमूलक तालीम प्रदान गर्ने गरेको छ ।
रासस