पुस १५, काठमाडौं – प्रत्येक वर्ष पुस १५ गते गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर ‘तमुल्होसार’ पर्व मनाउँछन् ।
‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायको विश्वास छ । यसवर्ष पुस १४ गते राति १२ बजे मृग वर्षलाई बिदाइ गरी मुसा वर्षलाई स्वागत गरिने गरिन्छ ।
टुँडिखेलमा गुरुङ समुदायको रमझम छ । तमुल्होसारका अवसरमा १५० भन्दा बढी कक्ष राखिएका छन् । जहाँ गुरुङ समुदायका मौलिक पहिचानका चीजबीज एवं वेषभूषा र खानाको प्रदर्शनीसहित बिक्री वितरण भइरहेको छ ।
पुस १५ गते अपरान्ह १ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले तमुल्होसार मूलसमारोहद्वारा टुँडिखेलमा आयोजना हुने कार्यक्रममा सम्बोधन गर्नेे कार्यक्रम रहेको आयोजक समितिले जनाएको छ ।
यसैगरी कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराई, महिला, बालबालिका, समाजकल्याण तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङलगायत व्यक्तित्वले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।