फोरजीको लोकप्रियता – तीन महिनामै २८ लाख आबद्ध

पुस १४, काठमाडौं – आसोजको दोस्रो साता एकैपटक ३६ जिल्लाका ५० शहरमा फोरजी सेवा विस्तार गरेको नेपाल टेलिकमले करीब ३ महिनाको अवधिमा आफ्नो फोरजी सेवाअन्तरगत २८ लाख ग्राहक आबद्ध भएको बताएको छ ।

मङ्गलबारसम्मको तथ्याङ्क अनुसार टेलिकमको कुल फोरजी ग्राहक ३६ लाख पुगेको छ । असोजको दोस्रो सातासम्म यो सङ्ख्या मात्र ८ लाख थियो ।

नेपालमै पहिलो पटक २०७३ पुस १७ गते फोरजी सेवा शुरु गरेको टेलिकमको यो सेवा असोजको दोस्रो सातासम्म राजधानी काठमाडौँ र पोखरामा मात्र सिमित थियो ।

टेलिकमका अनुसार असोजयता फोरजीमा आबद्ध भएकामध्ये ७ लाख ग्राहकले नयाँ फोरजी सिम लिएका हुन् । टेलिकमले हाल ६२ जिल्लाका मुख्य शहर र नगरपालिकाका एक हजार ५४ भन्दा बढी स्थानमा फोरजी सेवा विस्तार गरिसकेको छ ।