कानून उल्लङ्घन गर्नेलाई क्षमा दिनुहुँदैन– अन्सारी

पुस १४, काठमाडौं – राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मोहना अन्सारीले सेवा दिने र लिने दुवैको अधिकार सुनिश्चित हुनुपर्ने बताएकी छन् ।

आइतबार नेपालगञ्जमा भएको ‘व्यापार र मानवअधिकार’ विषयक छलफल कार्यक्रममा उहाँले कानूनको उल्लङ्घन गर्नेलाई राज्यले क्षमा दिन नहुने उनले बताइन् ।

मानवअधिकार सबैका लागि बराबर हुन्छ भन्दै सदस्य अन्सारीले कसैलाई काखा र कसैलाई पाखा गर्ने प्रवृत्ति नै मानवअधिकारको ठूलो शत्रुका रूपमा रहेको बताइन् ।

त्यस अवसरमा आयोगका नेपालगञ्ज प्रमुख चन्द्रकान्त चापागाई, नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगर, प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्कालगायतले पनि आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा विभिन्न पेशा, व्यवसायका सञ्चालक, रोजगारदाता र समृद्ध सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिको सहभागिता थियो ।