पुस १०, काठमाडौं – हरिऔनस्थित इन्दुशङ्कर चिनी उद्योगले किसानलाई उखु ल्याउने चलान पूर्जी वितरण शुरु गरेको छ । चलान पुर्जी वितरण शुरु भएसंँगै किसानले धमाधम उखु काट्न थालेका छन् ।
उखु काटेर उद्योगमा ल्याउन किसानलाई चलान पूर्जी वितरण शुरु गरिएको इन्दुशङ्कर चिनी उद्योगका उखु प्रबन्धक योगनारायण रजकले बताए ।
गत सालको तुलनामा यस वर्ष अलि चाँडै उखु कटानको चलान पूर्जी वितरण थालिएको हो । उद्योगमा गत मङ्सिरमा नै डोंगा पूजा गरेर उद्योग सञ्चालनको तयारी गरिएको थियो ।
सरकारले अहिलेसम्म उखुको मूल्य निर्धारण नगरेको भए पनि उद्योगले किसानसँग सहमति गरी गत वर्षको मूल्य निर्धारण गरेर कटाउन चलान पूर्जी वितरण गरेको हो । शुक्रबारदेखि उद्योग सञ्चालन शुरु गरिने उद्योगका उखु प्रबन्धक रजकले बताए ।
चालु यामका लागि उद्योगले उखुको मूल्य रु ४७१ र पैसा २८ तोक्दै सरकारको अनुुदानवापत किसानलाई रु ६५ र पैसा २८ उपलब्ध गराउने निर्णय गरेको छ । चिनी उद्योगीले चिनीको मूल्य अत्यन्त कम भएकाले किसानलाई उक्त मूल्य दिन नसकिने भन्दै उद्योग चलाउन आलटाल गर्दै आएका थिए ।
सरकारकोे योजनानुसार चिनी उद्योग सञ्चालनमा आलटाल भएकाले यही पुस ६ गते किसान र उद्योगबीच बसेर छलफल भएपछि उद्योगले उखु कटान चलान पुर्जी शुरु गरेको नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले जानकारी दिए ।