पुस ९, काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) ले स्ट्राइकर विमल घर्ति मगरसहित चार फुटबलरमाथि लगाएको प्रतिबन्धको समय घटाएको छ ।
एन्फाको अनुशासन कमिटिले मंगलबार विमलसहित दिनेश राजवंशी, अन्जन बिष्ट र सन्तोष तामाङमाथि गरिएको कारबाही २७ दिन घटाउने निर्णय गरेको हो ।
विश्वकप छनोट अन्तर्गत कुवेतसँगको खेलका लागि भुटान जाने अघिल्लो दिन नाईट क्लबमा बिताएपछि अनुशासन कमिटिले विमल र दिनेशलाई ९० दिनको प्रतिबन्ध लगाएको थियो । यस्तै अन्जन र सन्तोषलाई ४५ दिनको प्रतिबन्ध गरेको थियो ।
एन्फाले अनुशासन कमिटिको निर्णय भएको मितिले मंसिर २७ गतेबाट लागु हुने गरि कारबाही गरिएको बताएको थियो ।
तर, एन्फाले कारबाहीको अवधि घटाउँदै कात्तिक ३० गतेबाट प्रतिबन्धको समय गणना गरिने नयाँ निर्णय गरेको हो ।
कारबाहीको अवधि धेरै भएको भन्दै खेलाडी तथा खेलाडी आवद्व सम्बन्धित क्लबले एन्फामा अपिल गरेपछि कमिटिले अर्काको निर्णय गरेको हो ।
एन्फाले चारै खेलाडीमाथि गरिएको ५० हजार रुपैयाँ जरिवाना भने यथावत रहने जनाएको छ ।
नाईट क्लबमा गएको पुष्टि भएपछि एन्फाले चार खेलाडीलाई तत्काल निलम्बन गरेको थियो । जसको कारण उनीहरुले नेपालमा भएको १३ औं साग खेलकुद समेत गुमाएका थिए । नेपालले साग फुटबलमा स्वर्ण समेत जितेको थियो ।
चारै खेलाडीले ’ए’ डिभिजन लिग समेत गुमाएका छन् ।