मुख्यमन्त्री पोखरेलद्धारा क्रिसमस पर्वको शुभकामना

पुस ९, काठमाडौं – प्रदेश नं ५ सरकारका मुख्यमन्त्री शङ्कर पोखरेलले इसाई धर्मावलम्बीको पर्व क्रिसमसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका इसाई समुदायका दाजुभाइ दिदीबहिनीहरुमा शान्ति र सुस्वास्थ्यको कामना गरेका छन् ।

क्रिसमसका अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै उनले नेपाली समाज विविधतायुक्त समाज भएकाले जाति, भाषा, धर्म र संस्कृतिको विविधताले मुलुक रङ्गिएको चर्चा गर्दै विविधतायुक्त समाजमा अहिले एउटा समुदायले मान्ने संस्कृति र धर्म अरु समुदायका लागि पनि साझा हुँदै गएको बताए ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले सबै धर्म र समुदायको सम्मान हुने मार्गप्रशस्त गरेको बताउँदै मुख्यमन्त्री पोखरेलले यतिखेर मुलुक संविधान कार्यान्वयनको दिशामा अघि बढेकाले संविधानको कार्यान्वयन हुँदै जाँदा सबै समुदाय, वर्ग र जातिले व्यवहारिकरूपमा प्राप्त अधिकारको उपभोग गर्दै जाने वातावरण बन्ने गरेका छन् ।

“अहिले मुलुक संविधान कार्यान्वयन गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने दिशामा अघि बढेको छ । समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्यमा पुग्न प्रदेश सरकार योजनाबद्ध विकासमा सङ्कल्पित छ ।

त्यसका लागि हामीले समृद्ध प्रदेश खुशी जनताको लक्ष्य लिएर योजनाबद्ध विकासको दिशामा अघि बढेका छौँ”, शुभकामना सन्देशमा भनिएको छ ।