इलमी युवालाई राज्यले सहयोग गर्ने – मन्त्री लम्साल

पुस ६,काठमाडौ -गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले इलमी र परिश्रमी व्यक्ति अब गाउँ छाडेर पलायन हुनुनपर्ने बताएका छन ।

पर्वतको विहादी गाउँपालिका–१ बाच्छामा आयोजित बाच्छा महोत्सवको समापन कर्याक्रममा वोल्दै मन्त्री लम्सालले तीनै तहका सरकार बनेपछि स्वरोजगारमूलक कार्यक्रम सञ्चालनमा आएको बताउँदै अब गाउँ–गाउँमा स्वरोजगारका बाटाहरु खुलेको बताएका हुन।

उनले अब राजनीतिक प्रतिस्पर्धा सकिएको बताउँदै आर्थिक समृद्धिमा लाग्र्न उद्यम व्यवसाय गर्ने जोसुकै युवालाई पनि राज्यले सहयोग गर्ने बताए ।

पर्यटन, कृषि, उद्यम तथा ऊर्जाको क्षेत्रमा अनुदान वितरण गरिरहेको बताउँदै गाउँमै उद्यम सिर्जना गर्न मन्त्री लम्सालले जोड दिए । उनले होमस्टेलाई प्रभावकारी बनाउन पनि आग्रह गरे। गण्डकी प्रदेशले २७४ घरवास बनाएको बताउँदै घरवास प्रभावकारी भएमा पर्यटकको कमी नहुने र जुनसुकै व्यवासाय गर्नका लागि पनि गण्डकी प्रदेश सरकारले बिनाधितो ऋण उपलब्ध गराउने व्यवस्था गरेको बताए।

कार्यक्रममा विहादी गाउँपालिकाका अध्यक्ष कमल भुसालले विकासबाट विमुख बनेको विहादी बिस्तारै उज्यालोको दिशामा जान थालेको वताए। विविध समस्याले गाउँपालिकाले नागरिकका अपेक्षाअनुसार काम गर्न नसकेको बताउँदै विकास निर्माणमा सबैको सक्रियता र सहभागिता आवश्यक रहेको बताए ।

चार दिने महोत्सवमा भलिबल प्रतियोगिता, स्थानीय गुरुङ समुदायका परम्परागत सांस्कृतिक कार्यक्रम लोकगीत प्रतियोगिता, नृत्य प्रतियोगिता सञ्चालन गरिएको थियो ।