पुस ४, दार्चुला –मालिकार्जुन गाउँपालिका–६ उकुकी लीला तिरुवा दिनभर काम गरेर रु २५० मुस्किलले कमाउछिन् । उनले गाउँमा धान रोप्दा होस् या योजना निर्माणका काम जहाँ गरे पनि त्यत्तिकै रकम पाउछिन् ।
रोपाइँ लगाउने बेला हलो जोत्ने पुरुषले रु ८०० पाउँदा त्यही खेतमा काम गर्ने महिलाले भने रु २५० पाउने गरेका हलिया बस्तीका महिलाले बताएका छन् । “महिलाले काम गर्दा पनि ज्याला थोरै पाउने गरेका छौँ”, स्थानीय सरिता टमटाले भनिन् ।
सकेसम्म योजनाको काममा महिला सहभागी हुँदैनन् । काम नगरी नहुने अवस्थामा न्यून ज्यालामा काम गराउँछन् । प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन हुँदा पनि आफूहरुले थोरै ज्याला पाएको महिलाहरुको गुनासो छ ।
“महिलाले गरेको कामको मूल्याङ्कन हुँदैन”, सरिताले भनिन् “विकास निर्माणका कामभन्दा पनि घरायसी काम गराउँदा हामीले पाउनुपर्ने ज्याला कम छ, पुरुष र महिला बराबर काम गर्छौँ, तर रकम दिँदा पुरुषबाटै पीडित हुनुपरेको छ ।”
महाकाली नगरपालिका–३ की बिस्ना लोहार हरेक बिहान नाम्लो र बोरा बोकेर बसपार्क पुग्छिन् । जिल्ला बाहिरबाट खलङ्गा आउने गाडीका यात्रुको भारी बोक्न कुर्नुहुन्छ । महिला दिनभरि भारी बोकेर घर खर्च जुटाउँछन् । सदरमुकाम र सीमावर्ती धारचुला बजारमा बिहानै काँधमा डोरी बोकेर भारी खोज्न उनीहरूका बीचमा तँछाडमछाड नै चल्छ ।
धारचुलाबाट दार्चुला बसपार्कसम्म पुरुषले भारी बोक्दा सजिलै रु २०० पाउँदा महिलाले रु १०० माग्दा पनि पाउँदैनन् ।
रासस