पुस ३, काठमाडौं – काठमाडौँ महानगरपालिकालाई फोहर व्यवस्थापन कार्य थप चुनौतीको विषय बनेको छ । फोहर व्यवस्थापन कार्यमा सहयोग गर्दै आएको लगानी बोर्ड पनि पछि हटेकाले अहिले सिसडोलमा फोहर व्यवस्थापनको क्षमता सकिएको र बञ्चरेडाँडामा ल्याण्डफिल्डसाइटको पूर्वाधार तयार भइनसकेकाले महानगरका लागि चुनौती भएको हो ।
निजी क्षेत्रमार्फत गर्ने भनिएको फोहर व्यवस्थापनको जिम्मेवारी स्थानीय तहको नै हो भन्दै बोर्ड पन्छिएको हो । काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई दिने गरी लगानी बोर्डकै सक्रियतामा दुई वर्षअघि एक कम्पनीसँग सम्झौता भएको थियो । सम्झौताको दुई वर्षपछि फोहर व्यवस्थापन स्थानीय सरकारकै जिम्मेवारीमा पर्ने भन्दै लगानी बोर्डले यससम्बन्धी फाइल फिर्ता गरेको छ ।
कामपाका प्रमुख विद्यासुन्दर शाक्यले फोहर व्यवस्थापनमा बाधा पु¥याउने व्यक्ति, संस्था, समुदाय तथा संरचना पत्ता लगाउन सम्बन्धित विभागलाई निर्देशन दिनुभएको छ । कामपा वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठका अनुसार फोहर व्यवस्थापनमा निजी क्षेत्रको सहभागिता गराउनेसम्बन्धी फाइल लगानी बोर्डबाट फिर्ता आएकाले पनि अब कामपाले प्रचलित र प्रयोगसिद्ध प्रविधिको प्रयोग गरी व्यवस्थापन गर्न आवश्यक भएको बताए ।
लगानी बोर्डले फाइल फिर्ता पठाएपछि के गर्ने भन्ने विषयमा छलफल भइनसकेको बताउँदै यस विषयमा चाँडै छलफल गरी निष्कर्ष निकाल्ने तयारीमा महानगर रहेको श्रेष्ठले जानकारी दिनुभयो । कामपा यन्त्र तथा उपकरण महाशाखा प्रमुख पुरुषोत्तम शाक्यले अत्यावश्यक सेवा व्यवस्थापन गर्न कानूनी प्रबन्ध र ती प्रबन्ध सञ्चालन गर्ने प्रशासनिक व्यवस्था हुनुपर्ने खाँचो रहेको बताएका छन् ।
महानगरको वातावरण व्यवस्थापन विभाग मातहतमा अहिले सफाइमा खटिने कर्मचारीको सङ्ख्या ४९३ छ । महानगरलाई भौगोलिक क्षेत्रका आधारमा ८६ वटा रुट बनाएर सरसफाइ गर्ने गरिएको छ । यस क्रममा कामपामा ११० वटा सवारी तथा उपकरण प्रयोग हुन्छन् । यीमध्ये २० वटा ठूला सवारीलाई ट्रान्सफर स्टेशनबाट ल्याण्डफिल्डसाइट पठाउने गरिएको छ ।
काठमाडौँ उपत्यकाका १८ वटा स्थानीय तहले फोहर सिसडोलमा विसर्जन गर्दै आएका छन् । बढ्दो शहरीकरणसँगै उपत्यकामा उत्पादन हुने फोहरको परिमाण बढिरहेको छ । सरकारले फोहर विसर्जनका लागि नुवाकोट जिल्लाकै बञ्चरेडाँडामा ल्याण्डफिलसाइट निर्माण शुरु गरेको छ ।