टुटल –पठाओको पक्षमा पाटन उच्च अदालतको आदेश

पुस ३, काठमाडौं – पाटन उच्च अदालतले राइड सेयरिङ सेवा दिँदै आएका टुटल(पठाओको पक्षमा आदेश दिएको छ । ट्याक्सी व्यवसायी संघले दायर गरेको रिट उपर सुनुवाई गर्दै उच्च अदालतको सोमबारको इजलासले टुटल–पठाओमाथि प्रतिबन्ध लगाउने अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो।
ट्याक्सी व्यवसायी संघले टुटल –पठाओ, यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीलाई विपक्षी बनाएर केही दिन अघि मुद्दा दायर गरेको थियो ।

यसअघि मोबाइल एपको माध्यमबाट दुईपाङ्ग्रे सवारी साधनबाट यात्रुलाई सेवा दिइरहेको ‘पठाओ’ले गत साउनदेखि अआफ्नो भाडादरमा ट्याक्सी सेवा सुरू गरेको थियो । कम्पनीले काठमाडौंमा यो सेवा तीन सय ट्याक्सीबाट सुरु गरेको पठाओका रिजनल डाइरेक्टर असीममान सिंह बस्न्यातले जानकारी दिए।

उनले भने, ‘अब हामी दुई पाङग्रे सवारी साधनबाट चार पाङग्रे सवारीको सेवा यात्रुलाई ट्याक्सी मार्फत दिन सक्ने भएका छौँ । केही सर्भिस चार्ज लिएर हामीले उक्त सेवा दिदैछौँ । तर आज सरकारले हामीलाई रोकिरहेको छ। यसकारण हामीले कानुनी उपचार खोज्न न्यायको ढोका ढकढक्याएका हौं।’

उनका अनुसार चारपांग्रेमा पनि कार लाइट र कार प्लस गरी दुई किसिमको सेवा कम्पनीले उपलब्ध गराएको छ जसमा पठाओको कार बोलाएबापत नै यात्रुले सय रुपैयाँ तिर्नुपर्छ। उनले भने, ‘यो हामीले सर्भिस चार्ज लिएका हौँ। तर भाडादर भने नेपाल सरकारले तोकेकै किलोमिटर अनुसार लिएका छौँ।’

दुई पाङग्रे सवारी साधनमा पठाओले यात्रुलाई सुरुमा भने सेवामार्फत ३० रुपैयाँ लिँदै आएको उनको भनाइ छ। यात्रुले पठाओको सवारीसाधन बोलाउँदा पुग्नुपर्ने ठाउँको दूरी अनुसार मोबाइल एपमा नै सर्भिस चार्ज जोडेर कुल भाडा लिने गरेको देखाउँछ। तर सरकारले तोके अनुसारको भाडादर प्रति किलोमिटर ३९ रुपैयाँ मात्रै छ।

यता, प्रदेश ३ सरकारले निजी सवारीसाधनलाई भाडामा प्रयोग गर्न नपाइने गरी कानुन ल्याएर प्रदेश सवारी तथा यातायात व्यवस्था ऐनमा निजी सवारीलाई (गैर व्यावसायिक सवारी) व्यावसायिक प्रयोजनमा चलाउन नपाउने गरी घुमाउरो भाषामा प्रतिबन्ध लगाउन खोजेको छ।

ऐनको दफा १३ को उपदफा १ मा ‘निजी प्रयोजनका लागि दर्ता प्रमाणपत्र प्राप्त सवारीलाई गैर व्यावसायिक सवारी भनिनेछ’ भनी लेखिएको छ। त्यस्तै उपदफा २ मा गैर व्यावसायिक सवारी व्यावसायिक रुपमा यातायात सेवाका लागि प्रयोग गर्न पाइने छैन भनी स्पष्ट पारिएको छ।

निजी सवारीलाई गैर व्यावसायिक सवारीको रूपमा परिभाषित गरेको प्रदेश ऐनले यस्ता सवारीले निश्चित रुट, भाडा निर्धारण तथा यात्री बिमा गरेमा मात्र यात्रु बोक्न पाइने उल्लेख गरेको छ। तर पठाओले भने यात्रु बोक्ने न दुइपाङ्ग्रे सवारी साधनको बीमा गरेको छ न त शुक्रबारबाट सेवा सुरु गरेको चार पाङग्रे सवारीको बीमा गरेको छ। बरु उल्टै पठाओको कार सर्भिस चार्ज सय रुपैयाँ जोडेर यात्रुले तिरेको भाडाको २० प्रतिशत कम्पानीले लिने गरेको छ।