पुस १, काठमाडौं – जिल्ला समन्वय समिति काभ्रेले प्रत्येक स्थानीय तहलाई दुई करोड बजेट बाँडफाँड गरेको छ । तत्कालीन जिल्ला विकास समितिको आन्तरिक कोषमा रहेको ४३ करोडबाट स्थानीय तहलाई चालू आर्थिक वर्षमै प्रशासनिक भवन निर्माणार्थ हालै बजेट प्रदान गरिएको हो ।
जिससले आफ्नो भवन निर्माणका लागि भने चार करोड राखेको छ । जिल्लाका १३ स्थानीय तहलाई २६ करोड छुट्याइएको हो । “केही गाउँपालिकालाई दुई करोडबाट थप सहयोग गर्नुपर्ने पनि हुन्छ, भवन भएका नगरपालिकाले अन्य आवश्यकीय भवन बनाउनेछन्”, जिसस प्रमुख उद्वव केसीले भने । जिल्लास्थित सात गाउँपालिकाको आफ्नै प्रशासनिक भवन छैन ।
६ नपामध्ये मण्डनदेउपुरको पनि आफ्नै भवन छैन । केही गाउँपालिका भाडामा बसेका र केहीले आफ्नै जग्गामा अस्थायी संरचना बनाएर बसेकाले आफ्नै भवन नहुँदा नागरिकको काममा असहजता देखिएकाले बजेट विनियोजन गरिएको जिसस प्रमुख केसीले बताउनुभयो । उहाँका अनुसार तत्कालीन जिविसद्वारा सञ्चालित अधुरा योजना पूरा गर्न पनि सोही कोषबाट बजेट विनियोजन गरिएको छ ।
जिल्ला सभाले स्थानीय तहका भवन निर्माणसँगै खानेपानी योजनाका लागि तीन करोड, शैक्षिक गतिविधिका लागि दुई करोड ४० लाख, स्वास्थ्यका लागि दुई करोड ४० लाख, कर्मचारी दायित्वमा दुई करोड बाँडफाँड गरेको छ । जिससबाट रकम पाएका केही स्थानीय तह प्रशासनिक भवन निर्माणका लागि हाल बोलपत्रको प्रक्रियामा रहेका छन् ।